काठमाडौं, चैत २७– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले न्यायलयप्रति आफ्नो सम्मान रहेको बताएका छन् ।
शनिबार न्यायालयलाई संसदको मातहतमा राख्नुपर्ने भनि अभिव्यक्ति दिएका कोइरालाले त्यसको २४ घण्टा नबित्दै आफ्नो अभिव्यक्ति सच्याउँदै संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति आफू सचेत रहेको बताएका हुन् ।
आइतबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति म उत्तिकै सचेत रहेको छु । कार्यपालिकाको क्षेत्राधिकार बारे म जति सुस्पष्ट छु, उत्तिकै सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्वका प्रति पनि संवेदनशील रहेको जानकारी गराउन चाहन्छु । ’
उनले आगामी दिनमा कुनै पनि टिप्पणी न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने हुने प्रष्ट पार्दै स्थापनाकाल देखि नै पार्टीले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताका प्रति विश्वास राख्दै आएको स्मरण समेत गरेका छन् ।
शनिबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्रअधिकार मिच्ने काम भएको भन्दै शक्ति सन्तुलनका लागि पनि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक रहेको बताएका थिए ।






