बर्दिवास- पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधानसभाबाट नयाँ संविधान घोषणा अपूर्व ऐतिहासिक उपलब्धि रहेको बताउनुभएको छ ।
सोमबार अबेर राति महोत्तरीको बर्दिवासमा सम्पन्न अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले त्यो उपलब्धिलाई आत्मसात् गर्न नसक्नु लोकतान्त्रिक आन्दोलनकै अबमूल्यन हुने स्पष्ट पार्नुभयो ।
नयाँ संविधान घोषणासँगै मुलुक अब आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको डा भट्टराईको भनाई छ । आफूले यसै चरणलाई पहिचान गरेर आर्थिक विकास र समृद्धिको लडाइँका लागि राजनीतिमा नयाँ शक्तिको आवश्यकता महसुस गरेर अघि बढेको उहाँले बताउनुभयो ।
मधेसमा आन्दोलनको तयारीमा रहेका दललाई डा भट्टराईले विगतको नाकाबन्दी र हडतालले आर्थिक, सामाजिक र राजनीतिक रुपमा थिलथिलो भएको मधेसमा अब आर्थिक समृद्धिको आन्दोलनको अगुवाइ गर्न अपिल गर्नुभयो ।






