विकासले फड्को मारेको विश्वबाट सिक्नुपर्छ : शेष घले

shesh ghaleकाठमाडौं–गैर–आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. शेष घलेले तेज गतिमा विकासले फड्को मारेको विश्वको समुदायबाट नेपालीहरुले सिक्नुपर्ने बताएका छन् । संसारभर विभिन्न मुलुकहरुमा पुगेका नेपालीहरुले त्यहाँको समाजबाट पनि धेरै कुराहरु सिकेर, व्यवहारिक जीवनमा उतार्न सकिने भन्दै अध्यक्ष घलेले यसमा जोड दिएका हुन् ।

हामीसँग आफ्नै पहिचान छ, जब अरुसँगबाट पनि केहि सिक्छौ भने, आफूलाई जिउन झनै सजिलो हुन्छ अध्यक्ष घलेले भने, ‘अन्य समाजसँग पनि घुलमिल हुन सके, विविधताबीच पनि एकता कायम हुनसक्छ । यसले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई नै झनै बलियो बनाएको हुन्छ, किनकी त्यहाँ सामाजिक सुमधुरता र एकता हुन्छ ।’

गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले आईतबार लुभेनामा आयोजना गरेको नेपाली मेलालाई सम्बोधन गर्दै घलेले नेपाली कला संस्कृति, सम्पदा तथा पहिचानको लागि मेला आफैँमा साँचो विचार भएको बताएका छन् ।

डायस्पोरामा गरिने कार्यक्रमहरुमध्ये नेपाल झल्कने तथा पर्यटक प्रर्बद्दनका लागि गरिने यस्ता मेला, महोत्सवहरु नै प्रभावकारी एवम् प्रमुख कार्यक्रम हुने बताउँदै घलेले एनआरएनए बेल्जियम तथा सहकार्य गर्ने संघ–संस्थाहरुप्रति आभार प्रकट गरेका छन् । आफूलाई पनि नेपाली मेलामा निमन्त्रणा गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै अझैँ यस्ता कार्यक्रमहरुले वर्षौंवर्षसम्म निरन्तरता पाओस् भन्दै अध्यक्ष घलेले शुभकामाना व्यक्त गरे ।

विश्वभर रहेका गैरआवासीय नेपालीहरु मेहनती, परिश्रमी र शिक्षित समेत रहेको बताउँदै घलेले विदेशी समाजमा घुलमिल हुन सजिलो हुने गरेको बताए । तेज गतिमा विकासले फड्को मारिरहेको विश्वको समुदायमा आफू र आफ्ना सन्ततीको भविष्यबारे पनि सोच्न जरुरी रहेको बताउँदै घलेले भने, ‘हामी सबैका लागि यो चुनौती हो, तर सानो पाईला चाल्दै, एक अर्काबाट सिक्न जरुरी छ । एकअर्का बीच समृद्द, सुदृढ र सामन्जस्यपूर्ण समाज निर्माणका लागि पर्न जरुरी छ ।’

केही दशकअघिबाट नेपालीहरु विश्वका विभिन्न देशहरुमा सुनौला अवसरहरु प्राप्त गरिरहेका बताउँदै घलेले बेल्जियममा रहेका गैर–आवासीय नेपालीहरुले पनि धेरै अवसरहरु प्राप्त गरेको बताए । उनले भने, ‘यहाँको नेपाली समुदाय दिन प्रतिदिन धेरै अगाडि बढिसकेको छ, धेरै सफलता पनि हासिल गरेको छ, यसरी व्यक्तिगत रुपमा पाएको सफलता, लाभ र अनुभूति समाजमा कम अवसर भएकालाई बाँड्न सके सबैभन्दा ठूलो सफलता त्यही नै हुनेछ ।’ विदेशमा कार्यरत नेपालीहरुले कडा मिहिनेत, परिश्रम गरेर आफू कार्यरत मुलुकका साथै मातृभूमिका लागि समेत योगदान गर्नुपर्नेमा घलेले जोड दिए ।