बेलायतमा आज यसरी हुँदैछ प्रथम गोरखा भिसी कुलवीर थापाको शालिक अनावरण

लण्डन । बेलायती सेनाकाे सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण हुँदैछ ।

बिहान १०.४५ मा शुरु हुने सो कार्यक्रममा बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोचेर्टी लगायत बेलायती सेनाका उच्च अधिकारीहरुकाे उपस्थिति रहने छ ।

गोरखा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार सो शालिकको अनावरण ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोचेर्टी र भिसी कुलवीर थापाका नाति सूर्य थापाले गर्नेछन् ।

अनावरण पूर्व बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गर्नेछन् । भिसी थापाले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा मुद्रित व्यहोरा अंग्रेजी र नेपालीमा वाचन गरिने छ । शालिक अनावरणपछि विशिष्ट अतिथिलगायतले भिसी थापाको शालिकमा पुष्पगुच्छा चढाउने छन् ।

भिसी थापालगायत दिवंगत गोरखा सैनिकहरुको सम्झनामा दुई मिनेट मौनधारण गरेपछि अतिथिहरुले मन्तब्य व्यक्त गर्नेछन् ।

विशिष्ट अतिथिहरु कार्यक्रम सकेर प्रस्थान गरेपछि सर्वसाधारणलाई पनि फूल चढाउने अवसर दिइने बताइएको छ । प्रवक्ता थापाले पूर्व गोरखा र बहालबाला गोरखा सैनिकहरुलाई सैनिक पोशाक र मेडलहरुसहित उपस्थित भइदिन अपील गरेका छन् ।