बेलायतमा प्रथम भिसी कुलवीर थापाको शालिक यसरी गरियो अनावरण (फोटो/भिडियो)

लण्डन । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण गरिएको छ।

अल्डरसटको प्रिन्सेस गार्डेनमा शनिबार आयोजित एक कार्यक्रमका बीच बेलायती महारानीका प्रतिनिधि डेपुटी लर्ड लेफ्टिनेण्ट मनिकुमार राई, बेलायतका रक्षा राज्यमन्त्री तथा अल्डरसट क्षेत्रका सांसद लियो डोचेर्टी, नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल र बेलायती सेनाका होम कमाण्ड तथा स्ट्याण्डिङ ज्वाइन्ट कमाण्डर लेफ्टिनेण्ट जनरल इयान केभ सिबीले सो शालिकको अनावरण गरेका थिए ।

शालिक अनावरण पूर्व हिन्दू तथा बौद्ध परम्पराअनुसार पण्डित र लामाले मन्त्रपाठ गरेका थिए भने शालिक अनावरणपछि अतिथिहरुले शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

समारोहमा सहभागी विशिष्ट अतिथीहरुले सालिकमा रिथ अर्पण गरेका थिए भने दिवंगत गोर्खाहरुको सम्झनामा मौनधारण गरियो । 

कार्यक्रममा  बेलायती सेनाका उच्चपदस्थ अधिकारीहरु,शालिक निर्माणमा योगदान गरेका सम्पूर्ण व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरु तथा नेपाली र बेलायती विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

कार्यक्रममा मैया डंगोल केसीले अँग्रेजी तथा गरी घलेले नेपाली अनुवाद गरी उपस्थितहरुलाई भाषाको सहजीकरण गरिदिएका थिए ।

अनावरण पूर्व बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेका थिए भने भिसी थापाले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा मुद्रित व्यहोरा अंग्रेजी र नेपालीमा वाचन गरियो ।

शालिक अनावरणपछि विशिष्ट अतिथिलगायतले भिसी थापाको शालिकमा पुष्पगुच्छा चढाए, त्यसपछि अन्य सर्वसाधारणले पनि फूल चढाएका थिए ।

बेलायतमा देशको इतिहासमै सबैभन्दा ठूलो अभियानकाृ रुपमा अल्डरसटस्थित प्रिन्सेस पार्कमा १५६ संघसंस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा १ लाख ८५ हजार पाउण्ड अर्थात करिब ३ करोड नेपाली रुपैया लागतमा निर्माणकार्य सम्पन्न भएको हो ।

कांस्यको प्रयोग गरी निर्माण गरिएको उक्त शालिकमा पहिलो विश्व युद्धको क्रममा एक घाइते सैनिकलाई युद्धको मैदानमा बोक्दै भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली गोरखा प्राप्त कुलबीर थापा मगरलाई चित्रण गरिएको छ।शालिक अनावरणपछि  शालिक बनाउने मूर्तिकार एमी गुडम्यानले  धेरै शालिकहरु बनाए पनि कुलवीर थापाको शालिक बनाउनु आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली र बेलायती परम्पराअनुसारका दुवै बाजागाजाहरुले विशेष रौनक थपेको सो अनावरण कार्यक्रमको पहिलो चरण सकिएसँगै एम्पायर हलमा दोसो चरणको कार्यक्रम गरी बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।

शालिक निर्माणका लागि रामधन राईको अध्यक्षतामा गठन भएको गोर्खा मेमेरियल प्रोजेक्टको महासचिवमा प्रमिला राई, कोषाध्यक्षमा टोपबहादुर पल्ली, प्रोजेक्ट म्यानेजर क्या. गेरी घले, प्रोजेक्ट प्रमुख संयोजक मेजर खिमप्रसाद गौचन, प्रवक्ता ओमप्रसाद थापा काउचा, सहसंयोजक शेर सुनार, सह-कोषाध्यक्ष क्याप्टेन ताम ढेँगा, मेजर मनी कुमार राई, रश्मोर बरोका काउन्सिलर नेम थापा, जर्नल प्रकाशन प्रमुख संयोजकमा रिटायर्ड क्या. विष्णु श्रेष्ठ, संयोजक सुनिल राना, भूपू गोर्खा संघ संयोजक एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहामगर, मिडिया संयोजक ओमथापा काउचा र काउन्सिलर जीब बेलबासे तथा रिटायर्ड क्याप्टेनद्वय राजेन्द्रमान गुरुङ, बीरबहादुर गाहा (थापा), मगर संघ युएचएसबी शाकाका अध्यक्ष श्रीमती हेमा राना, मैया डंगोल केसी, बीरबहादुर बलाल सदस्य रहेको कार्यसमिति गठन गरिएको थियो ।

को हुन् कुलविर थापा ?

सन् १८८९ डिसेम्बर १५ मा पाल्पा जिल्लामा जन्मिएका थापा १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो ।

थापा २६ बर्षको हुँदा १९१५ मा युद्धमा निस्किएका थिए । सेप्टेम्बर २५, १९२५ मा फ्रान्समा उनले जर्मन फर्स्ट लाइन खाडल (ट्रेन्च)मा एक घाइते सैनिक भेटेका थिए ।

आफू समेत घाइते अवस्थामा रहेका उनले मेल्टन माउब्रेका लिसेस्टरशायर रेजिमेन्टका सिपाही २० वर्षीय बिल केइटलीलाई खाड्लबाट उद्धार गरी स्याहार गरेका थिए ।

त्यो अवस्थामा उनलाई दुष्मनहरुले जतिबेला पनि आक्रमण गर्न सक्थे । तर उनले आफ्नो प्रवाह नगरी ति घाइते सोल्जरको स्याहार सुसार गरेर बसिरहे ।

उक्त सिपाहीलाई सुरक्षित बनाइसकेपछि उनले अन्य दुई घाइते गोर्खाहरुको उद्धार गर्न गए । दुष्मनहरुको क्षेत्रबाटै जोगिएर उनले ती घाइते सैनिकहरुलाई एक पछि अर्काे गरेर सुरक्षित स्थानमा ल्याएर उपचार गराए । यसरी उनले तीन जनाको जीवन बचाएर बहादुरी देखाए । कुनै पनि बेला दुष्मनको गोलीले ठोक्न सक्ने त्रासलाई उनले प्राथमिक मानेनन् । उनलाई सकेसम्म सोल्जरहरुको जीवन बचाउनु नै प्राथमिक लाग्यो ।

हल्लाहरुका अनुसार उनी तेस्रो पटक गोर्खा सैनिकलाई बोकेर खाडलबाट बाहिर निस्किएर आफ्नो काँधमा घाइते सैनिकलाई बोकेर नो–मेन्स ल्याण्ड अर्थात मान्छेलाई जान निषेध गरिएको क्षेत्र पार गर्दै थिए, त्यस अवस्थामा जर्मन सैनिकहरुले उनलाई तालि बजाएर सम्मान गरेका थिए ।

२५ सेप्टेम्बर देखि ८ अक्टोबर २०१५ सम्म भएको लू युद्धमा उनले देखाएको यसप्रकारकारको साहसलाई लिएर सम्मानस्वरुप भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।

यसरी भिसी पाउनेमा लु युद्ध लड्ने उनको पहिलो समूह थियो । जसमा उनी परेका थिए ।

उनले त्यो युद्ध लडे र सर्जेन्टको दर्जा बराबरको हवलदारको दर्जा प्राप्त गरी रिटायर्ड भए ।

अल्डरशट क्षेत्र गोर्खालीहरुसँग विशेष सम्बन्ध भएको क्षेत्र मानिन्छ । १० क्वीन्सको आफ्नै गोर्खा रसद रेजिमेन्ट अझै पनी गेल ब्यारेकमा तैनाथ छ।

निवृत भएका गोर्खा सोल्जरहरु तथा उनीहरुको परिवारहरुले अल्डरशट, फ्रानब्रो, चर्च क्र्रकमको ठूलो क्षेत्र ओगटेका छन् ।

२०१६ मा रशमोर बरो काउन्सिलले रेजिमेन्टलाई बरोको स्वतन्त्रता प्रदान गर्यो जुन एक स्थानीय अधिकारीले प्रदान गर्न सक्ने सर्वोच्च सम्मान हो ।

बहादुर सैनिक थापाको सम्मान स्वरूप सन् २०१५ मा बेलायतको हुलाक रोयल मेलले उनको तस्विर अंकित फस्ट क्लास हुलाक टिकट बनाएको थियो ।

प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ अक्टुबरमा निधन भएको थियो ।

बेलायतमै पहिलो पटक ऐतिहासिक रुपमा प्रथम गोर्खा भीसी बिजेता कुलबिर थापाको शालिक निर्माण गरी अनावरण गर्न पाउँदा निकै हर्षको महसुस भएको गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओम थापा काउचाले बताए ।

‘यो शालिकले बेलायतमा नेपाली गोर्खाजहरुको शान, मान, इज्जत तथा उनीहरुले दिएको बलिदानीपूर्ण त्यागलाई सधै जीवन्त बनाउनेछ’, काउचाले लण्डन नेपाल न्यूजसँग भने, ‘यो हामी सबै गोर्खालीहरुको निम्ती गर्वको विषय हो, अल्डरशटमा अब बीर गोर्खालीको वीरता सधै देख्न सकिनेछ ।’

कार्यक्रमको लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गरेको थियो ।

भिडियो

थप तस्विरहरु