काठमाडौं । गैरआवासीय नेपाली संघको २०२१-२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै भूतपूर्व गोर्खा सैनिकहरुको माग पुरा नहुंदा सम्म आफु लागि रहने जनाएका छन्। काठमाडौंमा आइतबार आयोजित एउटा कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै आचार्यले पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने बताए।
अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या एक सय पुर्याउने घोषणा गरे । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ। गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ । थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे । पर्वतको धाइरिङमा जन्मेका आचार्य बेलायतका स्थापित व्यवसायी र समाजसेवी पनि हुन्। करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए। अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे ।
उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए । विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे। आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नेतृत्व चुन्नका लागि विश्वभर रहेका संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट एकैसाथ भोट गर्नेछन्। एनसीसीहरुको समर्थन एनआरएनएका सकृय ६५ मध्ये झन्डै दुइ तिहाई एनसीसीहरुले कुल आचार्य र उनको टिमलाई समर्थन जनाएका छन्। एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, युकेका अध्यक्ष प्रेम गाहा मगर, अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ तथा कतारका अध्यक्ष मोहम्मद मुक्तादाले शुभकामना दिंदै एनआरएनलाई रुपान्तरण गर्न कुल आचार्य र उनको टिमलाई आफुहरुको पूर्ण समर्थन रहने बताए आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ। एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरे।
एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिंदै विदेशमा रहेका नेपालीहरुलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिए। घोषणा सभामा उपाध्यक्ष मन केसी, आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, ए सी शेर्पा, हरिबोल भण्डारी, सचिव आर के शर्मा, , एनसीसी अमेरिकाका सल्लाहकार बेद खरेल, पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायतले शुभकामना दिएका थिए। त्यस्तै जानकी गुरुङ, आरके शर्मा, प्रविण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङ, भिम केसी कमल, दयानिधि सापकोटा, चिन्तामणि सापकोटा लगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
कुल आचार्यले प्रतिवद्धता सहित गरे एनआरएनएको अध्यक्षमा लड्ने घोषणा






