विश्व बैंकको नेपालसम्बन्धि पछिल्लो प्रतिवेदनप्रति परराष्ट्रमन्त्रि ज्ञवालीको आपत्ति

काठमाडौं- परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्व बैंकको नेपालसम्बन्धि पछिल्लो प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको ‘डुईङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको विश्व बैंकको प्रतिवेदनप्रति आपत्ति जनाएका हुन् ।

जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालसम्बन्धि विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको उल्लेख गर्दै त्यस सम्बन्धमा नेपाल सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको पनि स्पष्ट पारे ।

उनले नेपाल व्यापार र लगानीको दृष्टिले गत वर्षभन्दा नीतिगत, कानुनी प्रबन्ध, संरचनालगायतका सबै दृष्टिले सुधारोन्मुख रहेको दावी समेत गरे । विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल ‘डुईङ« विजनेस’मा १ सय १० औं स्थानमा छ ।

अघिल्लो वर्ष १ सय ५ औं स्थानमा थियो । सोही प्रतिवेदन यथार्थपरक नभएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि असन्तुष्टि जनाई सकेका छन् ।

मन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमण सफल रहेको दावी समेत गरे । उनले आफ्नो जापान भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ उचाईमा पु¥याउन योगदान पुग्ने विश्वास समेत व्यक्त गरे ।

जापानका परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा मन्त्री ज्ञवाली गत मंसीर १ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान गएका थिए । त्यस अवसरमा जापानले नेपालको खाद्य सहायता कार्यक्रमका लागि ३ सय ५० मिलिनियम जापानी यान बराबारको अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

मन्त्री ज्ञवालीले जापानी समकक्षी कोनोले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी दिए । मन्त्री ज्ञवालीले जापानबाट फर्कने क्रममा बिहिबार थाईल्याण्डस्थित नेपाली दुतावासको निरीक्षण र त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया पनि गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *