सरकारले रोक्यो विदेशमा रहेका नागरिकको उद्धार उडान

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकको उद्धार उडान रोक्ने निर्णय गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिले मन्त्रिपरिषद बैठकमा लैजाने एजेन्डा तय गर्दै यस्तो निर्णय गरेको हो । समितिको आइतबार बसेको बैठकले मन्त्रिपरिषद बैठकमा सिफारिसका लागि यस्तो निर्णय गरेको हो ।

बैठकले स्थानीय तहमा होम आइसोलेसनमा बसेका नागरिकलाई वडाबाट स्वास्थ्यकर्मी उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

“विदेशमा रहेका नागरिकको लागि यसअघि हुँदै आएको उद्धार उडान अब नगर्ने कोही अलपत्र परेको छ भने नियमित उडानबाट गर्ने निर्णय गरिएको छ,” केन्द्रका सचिव महेन्द्र गुरागाइँले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने । दक्षिण एसियासहित अन्य देशमा नियमित हवाई उडान गर्नका लागि संस्कृति मन्त्रालयले व्यवस्थापन गर्ने सम्बन्धमा पनि निर्णय भएको उनले जानकारी गराए ।