एनआरएनको केन्द्रीय नेतृत्वमा कुल आचार्य स्पष्ट अगाडी, कस कसको छ समर्थन?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) को आगामी अक्टोबरमा हुन गैरहेको १० औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका कुल आचार्य बलियो उम्मेदवारका रुपमा देखिएका छन्।

गत महिना सम्पन्न संघका राष्ट्रिय समन्वय परिषद चुनावमा आचार्यको प्रजातान्त्रिक समूहले लगभग दुई तिहाई स्थानमा आफ्नो नेतृत्व स्थापित गरेको छ। यो सफलताले संघको केन्द्रीय नेतृत्वका लागि सहज हुने दाबी आचार्य समूहको छ। आचार्यसँग प्रतिष्पर्धा गर्न संघका वर्तमान उपाध्यक्ष डा. बद्री केसीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्।

संघका ८४ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) मध्ये ६४ वटा एनसीसीहरू मात्रै सक्रिय छन्। तर ती मध्ये डा. केसीको पक्षमा लगभग १२ वटा एनसीसी मात्रै छन्। आचार्यलाई ४० बढी एनसीसीको स्पष्ट समर्थन रहेको उनको समूहको दाबी छ। संघमा ठूलो संख्यामा प्रतिनिधिहरू रहेको अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका क्षेत्रमा आचार्यको स्पष्ट बहुमत छ। उनी बसोवास गर्ने बेलायतमै पनि आचार्य समूहले ‘क्लीन स्वीप’ नै गरिदिएको थियो।

आचार्यले प्रजातान्त्रिक बाहेक वामपन्थी तथा प्रगतिशील खेमालाई समेत राखेर बलियो समूह बनाएको बताएका छन्। त्यसका लागि आचार्य अहिले काठमाडौंमै भेटघाटमा व्यस्त छन्। केही साता भित्रै सबैलाई मिलाएर समावेशी टिमको औपचारिक घोषणा काठमाडौंबाटै गर्ने तयारी भइरहेको उनले बताए।

‘योग्य उम्मेदवार छान्न आग्रह’

यसैबीच एनआरएनएका पूर्व महासचिव आर के त्रिपाठीले आचार्य नै संघलाई नेतृत्व दिन सक्षम भएको भन्दै सम्पूर्ण गैरआवासीय नेपालीलाई योग्य उम्मेदवार छनोटका लागि आग्रह गरेका छन्।

‘गैरआवासीय नेपालीलाई नागरिकता निरन्तरतादेखि विदेशमा बस्नेहरूको भोट हाल्न पाउने अधिकारसम्मका मुद्दामा अग्रपङ्क्तिमा रहेर लड्नुभएको छ र मुख्य कुरा उठ्दै गरेको पदका लागि उहाँ योग्य हुनुहुन्छ,’ आचार्यका पक्षमा एक अपिल जारी गर्दै त्रिपाठीले भने । ‘सामाजिक संस्थामा विश्वास जित्न सके नेतृत्व लिनु र नसके अर्को योग्यलाई ठाउँ दिनु नै प्रजातान्त्रिक विधि हो।’ संविधानले नै एनआरएनहरूलाई राजनैतिक अधिकार नदिएको भन्दै उनले आचार्य कुनै राजनीतिक दल वा कुनै सिण्डिकेटबाट नआएको स्पष्ट पारे । ‘आचार्यको जित आम गैरआवासीय नेपालीका लागि एउटा मानक हुनेछ।

सामान्य प्रोफाइल भएकाहरूले पनि नेतृत्व लिन सक्छन् भन्ने सन्देश पनि हुनेछ।’ पूर्व अध्यक्ष शेष घलेले प्रस्तुत गरेको ‘भिजन २०२० एन्ड बियोन्ड’ लाई पास हुनै नदिन ठूलो भूमिका निर्वाह गर्नेहरू पनि आज त्यही कार्यदिशामा आइपुगेको दाबी गर्दै त्रिपाठीले सबै डेलिगेट्सहरुलाई कुल आचार्यलाई छनोट गर्न अपिल गरेका छन्।