वैशाख १२ गते पुनःनिर्माणको चरणमा प्रवेश गर्न कार्यक्रम हुने

earthquakeकाठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तयारी परामर्श बैठकले वैशाख १२ गते मुलुकलाई भूकम्पपछिको पुनःनिर्माणको चरणमा प्रवेश गरेको सन्देश प्रवाह गर्नेगरी कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ अबेर बसेको बैठकमा टहरामा बसेका पीडितलाई यथाशीघ्र छानामुनि ल्याउन तथा विकास निर्माणमा भएको शिथिलतालाई क्रियाशीलतामा रुपान्तरण गर्नकालागि मन्त्रालयगत रुपमा भएका कार्यक्रमको समीक्षा पनि गरियो ।

बैठकले गृहमन्त्रालयको आयोजनामा वैशाख १२ गते बिहान धरहरामा जम्मा भएर भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धान्जली तथा सोही दिन साँझ तिनको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत सिफारिस गरेको छ ।

बैठकले धेरैभन्दा धेरै जिल्लामा समन्वय समितिलाई क्रियाशील बनाएर उक्त दिन भूकम्पसँग जोडिएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सो कार्यक्रम अन्तर्गत भूकम्पप्रभावित १४ जिल्लाका ३८६ गाविसमा को कसले अनुदान प्राप्त गर्न सक्ने हो त्यसको सूचि प्रकाशित गर्ने र अनुदान सम्झौता गर्ने पनि निर्णय गरेको छ ।