गाविस सचिव खड्गबहादुर पौडेलमाथि हातपात गरेको अभियोगमा भोजपुरमा प्रहरीले पूर्व सभासदसहित ३ जनालाई पक्रेको छ । देउराली र साङपाङ गाविसका सचिव खड्गबहादुर पौडेललाई कुटपिट गर्ने पूर्व सभासद तथ एकिकृत नेकपा माओवादीका अध्यक्ष सुदन किराती, नेपाली कांग्रेस भोजपुरका सचिव हेमन्त मुकारुङ र नेकपा मालेका सचिव अनिल बस्नेतलाई प्रहरीले पक्रेको हो ।
पौडेलको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पौडेलले ८ जनाविरुद्ध जाहेरी दिएका छन् । सोमबार दिउँसो जिविस कार्यालयमा एलडिओको कार्यकक्षमा सडक हेरालु नियुक्तिको विषयलाई लिएर आफूमाथि हातपात भएको पौडेलले बताउनु भएको छ ।
पक्राउ परेका नेतालाई छाड्नुपर्ने मागसहित एमाओवादी, कांग्रेसलगायतका दलहरुले बुधबार विहानैदेखि भोजपुर बजार बन्द गरेका छन् । जिल्लाका सबै गाविसका कामकाजहरु सचिवहरुले ठप्प गरेका छन् । आफूहरुको असुरक्षा बढेको भन्दै सचिवले काम गर्न नमान्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
सचिव कुट्ने पूर्वसभासद् पक्राउ






