संविधान निर्माणको काम र राजनीतिक भेटवार्तामा व्यस्त भैरहने एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई बुधबार बिहान एकाएक भावुक हुनुभयो । सामुहिक बलात्कारपीडित पूजा बोहोराको आँशु देखेर उहाँले मन थाम्न सक्नुभएन । धेरैबेरसम्म आँखामा आँसु बगिरह्यो । बोल्दा गला अवरुद्ध भयो । पूजालाई निवासमा भेट्दा मन थाम्न नसकेको कुरा उहाँले आफ्नो फेसबुकमै उल्लेख गर्नुभएको छ ।
पूजाको मार्मिक चिठी पत्रिकामा पढेपछि डा. भट्टराईले उहाँलाई निवासमै बोलाउनुभएको थियो । सँगै पूर्व महान्याधिवक्ता मुक्ति प्रधान र मानवअधिकारकर्मी विश्वप्रकाश भण्डारी पनि हुनुहुन्थ्यो ।
रक्षा नेपालका प्रतिनिधिसँग बाबुराम निवास पुगेकी पूजाले आफ्नो वेदना पोख्नुभयो । बाबुरामलाई उहाँले बुबा भनेर सम्बोधन गर्नुभयो । पूजाको वेदना र अभिव्यक्ति सुनेपछि बाबुराम निवासमा एकाएक सन्नाटा छायो ।
भट्टराईका निजी सचिव विश्वदीप पाण्डेका अनुसार पूजालाई न्याय दिलाउने विषयमा गम्भीर छलफल समेत भएको छ । भट्टराईले त्यहीँबाट प्रधानन्यायाधीशलाई टेलिफोन गरेर पीडितलाई अन्याय हुने वातावरण बन्न नदिन आग्रह पनि गर्नुभयो । साथै उहाँले पूजालाई न्याय दिलाउनको लागि आवश्यक पहल गर्न पूर्व महान्याधिवक्ता प्रधान र मानवअधिकारकर्मी भण्डारीसँग पनि आग्रह गर्नुभएको पाण्डेले जानकारी दिनुभयो ।
बाबुराम निवासमा रुवाबासी






