दीपक बोहरा राप्रपामा प्रवेश, तोडियो राणासँगको २८ वर्षे सम्बन्ध

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा बिनै प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहरा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपा अध्यक्ष कमल थापाले बोहरासहितका नेताहरुलाई पार्टीमा स्वागत गरे ।

राप्रपामा एकीकृत हुनेमा बोहरासहित कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप कुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षण बिभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरु सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवार लगायत तिन दर्जन केन्द्रीय सदस्य र विभाग र भातृ संगठनका प्रमुखहरु रहेको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बोहराले पशुपति शमशेर राणासँग एउटै पार्टीमा विगत २८ वर्षदेखि सहकार्य गर्दै आएका थिए ।

सम्बद्र्धनवाद राप्रपाको बैचारिक दर्शन हुने, पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको बैचारिक आधारस्तम्भ हुने बोहरा र राप्रपा अध्यक्षबीच समझदारी भएपछि बोहरा राप्रपामा एकीकृत हुन सहमत भएका हुन् ।

यस्तै पार्टीलाई संस्थागत नेतृत्वको मान्यता अनुरुप संचालन गरिने , पार्टी सदस्य र पदाधिकारीहरु सहमतिको आधारमा थप गरिने लगायतका समझदारी पनि बोहरा र थापाबीच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *