तक्दीर अधिकारी
सिड्नी । सिड्नीको रगडेलमा रहेको एभरेष्ट फंङ्सन सेन्टरमा हिजो आइतबार कवि एवम् गीतकार दिनेश अधिकारीको एकल कविता बाचन सम्पन्न भयो । ‘यो सम्झिने मन छ, म बिर्सु कसोरी, तिमी नै भनिदिउ हे जाने निठुरी’, ‘सोचेजस्तो हुन्न जीवन, देखेजस्तो हुन्न जीवन’ जस्ता कालजयी गीतका रचयता अधिकारीको एकल प्रस्तुतिको चाँजोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्सले मिलाएको थियो ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद्का संयोजक देव गुरुङले कवि एवम् गीतकार अधिकारीलाई सम्मान गरेका थिए । कार्यक्रममा नारायण गोपालको स्वरमा रहेको यो सम्झिने मन छ बोलको गीत स्टेजबाट विकास उप्रेतीले प्रस्तुत गर्दा कवि एवम् गीतकार अधिकारी हर्षित मुद्रामा उनलाई अँगालो हाल्न पुगेका थिए । उनले भने, भाइ तिमी गाएको यो गीतले मेरो मन छोयो ।’ वास्तवमा विकासले गाएको उक्त गीतले सहभागी दर्शकसमेत भावुक बनेका थिए । सबैले उनको गायनको प्रशंसा गरेका थिए ।

मानिसको पिडा, ब्यथा र भोगाइका अनुभवलाई सृजनामा रूपान्तरण गर्ने खुबी राख्ने अधिकारी पारिवारिक भेटघाटका लागि अस्ट्रेलिया आइपुगेका हुन् । एकल कविता वाचनमा पनि सर्जक अधिकारीले जीवन र जगतका कविताहरू प्रस्तुत गरेका थिए । उनले आफ्ना चर्चित गीतहरू पनि सुनाए भ्याए । लामो समय सरकारी सेवामा रहेका अधिकारीले मदन पुरस्कारसमेत प्राप्त गरेका छन् ।
यो सम्झिने मन छ मात्र होइन, चलचित्र झुमाको ‘बोल बोल पाखाहरू’, ‘तिमी यसै लजायौ म उसै धकाएँ’ लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए । सर्जक दिनेश अधिकारले भने ‘म मेरो सिर्जनामा सरल र सहजता खोज्छु । मेरो सिर्जना सबै बर्ग, तह र तप्कासम्म पुग्नु पर्छ । यो नै हो मेरो ध्येय हो ।’

प्रबासमा आएर यसरी प्रस्तुत हुन पाएकोमा उनले खुशी प्रकट गरे । उनले भने, ‘यो जीवन कै भूल्न नसक्ने संयोग हो ।’ कार्यक्रममा उत्साहजनक सहभागिता रहेकोमा खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरका अध्यक्ष महेश्वर शर्मालाई धन्यवाद दिए । यस्तै मित्र अरुणविक्रम राणा, अनेसास केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा, केन्द्रीय सदस्यय सोनु घिमिरेलाई कवि एवम् गीतकार अधिकारीले धन्यवाद दिए । कार्यक्रममा आयोजक सस्थाका तर्फबाट महेश्वर शर्माले सबैलाई धन्यबाद दिए ।






