लन्डन– बेलायतबाट सञ्चालित अनलाइन पत्रिका ‘लन्डन नेपाल न्यूज डट कम’को प्रबन्ध निर्देशकमा इञ्जिनियर राजकुमार त्रिपाठी नियुक्त हुनुभएको छ । लन्डन नेपाल न्यूज डट कमको बोर्ड बैठकले त्रिपाठीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
संयुक्त अधिराज्य बेलायतबाट नेसनल एक्जामिनेसन बोर्ड अफ हेल्थ एन्ड सेफ्टी गर्नुभएका त्रिपाठीलाई लन्डन नेपाल न्यूज डट कमको बोर्ड बैठकले पत्रकारितालाई अलग ढंगले सञ्चालन गर्न प्रबन्ध निर्देशकमा प्रस्ताव गरेको थियो ।
त्रिपाठीको नियुक्तिसँगै लन्डन नेपाल न्यूज डट कमलाई नेपाली डायस्पोरा एवं बेलायती डायस्पोरामा समेत समन्वय गरी नयाँ ढंगले पत्रकारिता विकास हुने आशा लिइएको छ । लन्डन नेपाल न्यूज डट कमले त्रिपाठीको आगमनले संस्थाको श्रीवृद्धिमा थप टेवा पुग्ने अपेक्षा गरेको छ । उहाँको आगामी कार्यकाल सफल हुने संस्थाले विश्वास लिएको छ । साथै बोर्ड बैठकले त्रिपाठीलाई प्रबन्ध निर्देशक नियुक्त हुनुभएकामा बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएको छ । लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिव भण्डारी भन्नुहुन्छ, ‘संस्थालाई थप व्यवसायिक बनाउन त्रिपाठीको सृजनशीलता र व्यवसायिक अनुभव हाम्रो लागि फलदायी हुनेछन् ।’
सिभिल इञ्जिनियरिङ विषयमा स्नातकोत्तर त्रिपाठी गैरआवासीय नेपाली संघ बेलायतका पूर्वमहासचिव हुनुहुन्छ । बेलायतका विभिन्न संघ संस्थामध्ये गैरआवासीय नेपाली संघ, यति नेपाली एसोसिएसन यूके, नेपाली कलाकार संघ बेलायतको समेत सल्लाहकार रहनुभएका त्रिपाठी १३ वर्षदेखि बेलायतमा तीन ठूला निर्माण कम्पनीमध्ये एक बाम कन्ट्रक्सन यूकेको प्रोजेक्ट इञ्जिनियरको रुपमा काम गर्दै आउनुभएको छ । उक्त कन्ट्रक्सन कम्पनीमा संसारभर करिव १० हजार कार्यरत छन् । यो कम्पनीको मुख्य कायालय नेदरल्याण्डको आम्सटर्डममा छ । उहाँ १३ वर्ष अघि नेपाल सरकारको भवन विभागमा कार्यरत इञ्जिनियर हुनुहुन्थ्यो ।
पेसाले चार्टर सिभिल इञ्जिनियर त्रिपाठीले सामाजिक कार्यक्रममा सहभागी हुँदै विभिन्न लोक कल्याणकारी एवं दु:ख सुखमा साथ दिंदै आउनुभएको छ । बेलायतको नेपाली समूदायमा बौद्धिक व्यक्तित्वकोरुपमा चिनिनुभएका त्रिपाठी नेपाली प्रजातन्त्र र मानव अधिकार प्राप्तीको आन्दोलनमा पनि सक्रिय हुनुहुन्छ ।
त्रिपाठी नेपालमा रहेको इस्टेट बिल्डर्स प्रा.लि.को बोर्ड अफ डाइरेक्टर पनि हुनुहुन्छ । जसले नेपालमा व्यवस्थितरुपमा निर्माण व्यवसाय गरिरहेको छ ।
त्रिपाठी पत्रकारितासँगै लेख, रचना र साहित्यमा रुचि राख्छन् ।
बेलायतको विभिन्न संघ संस्था र सामाजिक व्यक्तिहरुसँग राम्रो सम्बन्ध भएका कारण उनको आगमनले भोलिका दिनमा बेलायतको सूचना प्रवाहमा नेपाली संघ संस्थाहरुलाई लाभान्वित हुने लन्डन नेपाल न्यूज डट कमका सल्लाहकार सम्पादक केशव भण्डारीले बताए ।
यसैबीच लन्डन नेपाल न्यूज डट कमको डिजिटल कोअर्डिनेटरमा वीरेन्द्र श्रेष्ठलाई पनि बोर्ड बैठकले स्वागत गरेको छ ।
बैठकले सल्लाहकारमा चयन भएका समाजसेवी इबं एभरेष्टइन ग्रुपका राजन खरेल तथा, गुल्मी जिल्ला समाज युकेका पूर्वअध्यक्ष, एनआरएनएका सल्लाहकार, तथा साउथइस्ट लन्डनस्थित श्री पशुपतिनाथ मन्दिर लन्डनका ट्रस्टी एवं वर्तमान महासचिव श्री अर्जुन गौतम लाई पनि स्वागत गरेको छ ।
लन्डन नेपाल न्यूज डट कमको मुख्य कार्यालय बेलायतमा छ ।






