काठमाडौं- भारतमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि वेस्टइन्डिजले जितेको छ । अन्तिम ओभररमा कार्लोस ब्रैथवेटले लगातार चार छक्का हानेपछि वेस्टइन्डिजले दोस्रो पटक विश्व टी-२० को उपाधि उचालेको हो ।
भारतको कोलकातास्थित इडन गार्डेन स्टेडियममा क्यारेबियन टोलीले दोस्रो पटक उपाधि जित्ने क्रममा बलियो प्रतिद्व्न्द्वी इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्यो ।
वेस्टइन्डिजलाई जिताउने क्रममा मार्लोन स्यामुल्स नायक सावित भए । उनले वेस्टइन्डिजले लगालगत शुरुवाती विकेट गुमाएको अवस्थमा तेस्रो क्रममा आएर ६६ बलमा नटआउट ८५ रन बनाए ।
उनले त्यसक्रममा ९ चौका र २ छक्का हाने । इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १५६ रनको लक्ष्य वेस्टइन्डिजले ४ विकेटको क्षतिमा २ बल बाँकी छँदै भेट्टाएको हो ।
यसअघि इङल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दै पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।
पहिले ब्याटिङमा उत्रेको इङ्ल्यान्डलाई वेस्टइन्डिजले सुरुबाटै दबाबमा राखेको थियो । पहिलो दुई ओभरमै इङ्ल्यान्डका दुई विकेट चट्काउँदै वेस्टइन्डिजले प्रभाव जमाएको थियो ।






