काठमाडौं- ठमेलमा २१ वर्षअघि इटालीका एक नागरिकको हत्यामा संलग्न टासी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
विसं २०५२ असोज २७ गते राति अन्दाजी १०:३० बजेको समयमा ठमेलस्थित रेगी पवमा इटालियन नागरिक वर्ष २१ डेभिड क्यारारोलाई कुटपिट तथा चक्कु प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सार्वजनिक गरेको हो ।
क्यारारो आफ्ना दुईजना इटालेली महिला साथी एन्टेनोला केसराइनी र लारा स्कीबिनासँग ठमेलको रेगी पवमा बसिरहेको अवस्थामा गुरुङसहितका उनको समूह राति आई इटालीका महिलामाथि आपत्तिजनक व्यवहार प्रदर्शन गरेका थिए ।
सोही कुरामा विवाद हुँदा क्यारारोलाई कुटपिट एवम् छुरीसमेत प्रहार गरी सक्त घाइते बनाएकामा उपचारका लागि वीर अस्पतालमा लगेकामा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।
घटनापश्चात् गुरुङ फरार भई नेपाल तथा भारतका विभिन्न स्थानमा लुकीछिपी बसेको अनुसन्धानको क्रममा खुलेको ब्युरोका वरिष्ठ उपरीक्षक मनोज न्यौपानले जानकारी दिनुभयो ।






