ठूला राष्ट्रले साना राष्ट्रलाई दबाउन मिल्दैन : चीन

भारतप्रति लक्षित गर्दै चिनियाँ राष्ट्रपतिले भने, 'सबै राष्ट्रहरु आफ्नो सामाजिक प्रणाली परिवर्तन गर्न स्वतन्त्र छन्'काठमाडौं, १२ असोज /भारतले नेपालमाथि ‘अघोषित नाकाबन्दी’ गरिरहेको बेला चीनले संयुक्त राष्ट्रसंघको महासभामा त्यसको विरोध गरेको छ ।  चीनका राष्ट्रपति सि जिनपिङले नेपालको पक्षमा घुमाउरो ढंगले आवाज उठाउँदैं  ठूला राष्ट्रले साना राष्ट्रलाई ‘दबाउन नमिल्ने’ बताए ।

न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको ७० औं वर्षगाठको अवसरमा संयुक्त राष्ट्रसंघ महासभा बोल्दैं राष्ट्रपति सि जिनपिङले सबै देश बराबर भएकाले पेल्न नमिल्ने बताएका हुन् । नेपालमा जारी भएको नयाँ संविधानमा भारतले असन्तुष्टि जनाउँदै भारतले ‘अघोषित नाकाबन्दी’तर्फ संकेत गर्दै उनल सबै राष्ट्र आफ्नो समाजिक प्रणाली परिवर्तन गर्न र विकास गर्न स्वतन्त्र भएको बताए ।

‘सबै देश बराबर छन् । ठूला, बलिया र धनी राष्ट्रले साना, कमजोर र गरिब राष्ट्रलाई पेल्न  हुन्न’ उनले भने, ‘स्वाधीनताको सिद्धान्त भनेको भौगोलिक अखण्डता मात्र होइन । सबै राष्ट्र पवित्र छन् । उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन ।’

उनले नेपालको संविधानमा भारतीय असन्तुष्टीतर्फ संकेत गर्दै सबै राष्ट्रहरु आफ्नो सामाजिक प्रणाली परिवर्तन गर्न स्वतन्त्र रहेको उल्लेख गरे । ‘सबै राष्ट्रहरु आफ्नो सामाजिक प्रणाली परिवर्तन र विकास  गर्न स्वतन्त्र छन् र त्यसको साथ दिनुपर्छ,’ राष्ट्रपति सि जिनपिङले भने, ‘सबै राष्ट्रले आर्थिक प्रणाली र जनताको जीवनस्तर सुधार गर्ने कार्यको सम्मान गर्नुपर्छ ।’

२० मिनेटभन्दा लामो सम्बोधनमा जिनपिङले  ठूला राष्ट्रले साना राष्ट्रलाई सधै सम्मान गर्नुपर्ने बताए  ।  साथै उनले एक राष्ट्रले अर्को राष्ट्रको शान्ति कायम गर्नु सहयोग गर्नुपर्ने बताउँदै भने, ‘ग्लोबलाईजेशनको जमानामा एक राष्ट्रले अर्काे राष्ट्रको सुरक्षाको रक्षार्थ काम गर्नुपर्छ । कुनै पनि राष्ट्रले अर्काे राष्ट्रको अस्थिरतामा खेल्न हुन्न । शान्ति स्थापना, समानता, न्याय, प्रजातन्त्र र स्वतन्त्रता विश्वको साझा धारणा हुनुपर्छ । ‘

उनले सम्बोधनको क्रममा राष्ट्रसंघको शान्ति मिसनका लागि ८ हजार चिनियाँ सेना प्रदान गर्ने तथा १ बिलियन डलर दिने जनाए ।  उनले बलियो अन्तर्राष्ट्रिय एकता कामय गर्न सबै राष्ट्र लाग्नुपर्ने तथा निरन्तर संवाद गर्नुपर्ने बताए । साथै उनले यूएन च्यार्टरको सम्मान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्न ‘विन विन’ सहकार्य गर्नुपर्ने उल्लेख गरे ।