साउदीमा मृत्युदण्ड सुनाइएका उमेश जेलबाटै फोन गरी आमालाई भन्छन्– ‘घर आउँछु आमा !’

608-03473025 © Masterfile Royalty-Free Model Release: No Property Release: No A man talking on the phone

धनुषा। बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’

१०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा ।

साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानीको हत्या गरेको आरोपमा उनलाई साउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ ।

धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेश यादव । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको जिलादीन कम्पनीमा ६ महिना काम गरे । त्यसपछि यो दुर्घटना हुन पुग्यो– पाकिस्तानी कामदारको हत्या ।

उमेशका भाइ दिनेश पनि साउदीमै वैदेशिक रोजगारीमा रहेका बेला उमेशबाट यस्तो घटना भएपछि भाइ दिनेश त्यहाँबाट भागे तर पछि उनलाई पनि पक्राउ गरी साउदीको जेलमा ६ महिना राखे ।

६ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनःआफ्नै गाउँ पुगेर खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन् । दाजु उमेशको हालत देखेर कहिल्यै विदेश नजाने सोचाइमा उनी छन् ।

चार दाजुभाइमा दुई कट्ठा जमिन मात्र थियो, सउदीमा उमेशलाई सजाय र १२ वर्षदेखि घर नफर्केपछि तीन दाजुभाइले बाँडेर उमेशको भागको सबै बेचबिखन गरी सकेको अवस्था छ ।

सजाय सुनाइएका उमेशका कमलेश यादव र हितेष यादव गरी दुई छोरा छन् । दुवै छोरालाई लिएर उनका श्रीमती मन्जुदेवी यादव धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा काम गरी सन्तान पालिरहेकी उमेशका बुबा भोला यादव बताउँछन् ।

वृद्ध बुबाआमा भन्छन्, ‘जेलबाटै साथीको मोबाइलबाट कहिलेकाहीँ फोन गर्छ र बढीमा १०–१५ सेकेण्ड कुरा हुन्छ, उ एउटै कुरा भन्छ म घर आउँछु आमा, मेरा छोरा कता छन् ? यति भन्दैमा फोन काटिन्छ । सायद अरुको मोबाइल चोरेर फोन गर्छ होला र जेलका सुरक्षाकर्मीले मोबाइल खोस्छन् त्यही भएर यतिको कम कुरा हुन्छ होला उमेशको ।’

साउदीस्थित रहेको नेपाली दूतावासले पहल थालेको सुनिएको छ तर समयमै काम हुनसके उमेशलाई सुनाइएको सजाय आम माफी हुने बताइएको छ ।

हत्या भएका पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी रु ७० लाख माग गरेको बुझाउन सके र अदालतमा मृतकका परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने सम्भावना छ । नेपालबाट सरकारी पहल हुनसके उमेश फर्केर आउने परिवारको आस छ । (रासस)