बहुमतबाटै प्रधानमन्त्री चयन हुने

CAकाठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिनुभएको समयसीमा टुङ्गिएपछि प्रधानमन्त्री चयनको प्रक्रिया बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको छ ।

राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिनुभएको थियो । सहमतिको सरकार गठनका लागि दिनुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको चयन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्ने र त्यसका लागि राष्ट्रपति कार्यालयबाट सोसम्बन्धी पत्र प्राप्त हुनुपर्नेछ ।

व्यवस्थापिका–संसद्को बैठक सोमबार १५:०० बजे राखिएको छ । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नु हुनेछ ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

सचिवालयले सम्भवत यही साउन १९ गते नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ । सहमतिको प्रक्रिया लगभग अन्त्य भएपछि दलले बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउनका लागि प्रयास पनि सुरु गरेका छन् ।