एमालेको प्रधानमन्त्री उम्मेदवार को ?

umlकाठमाडौं–एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक गृहकार्य थालेको छ । ‘सशक्त प्रतिपक्ष’को भूमिकाका लागि पनि उम्मेदवारी दिनुपर्ने निष्कर्ष उसको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक छलफल भएको थियो । ‘जो भए पनि पार्टीभित्रैबाट उम्मेदवार उठाउनु उपयुक्त हुन्छ भन्ने अनौपचारिक छलफल भएको छ,’ एक पदाधिकारीले भने, ‘यसबारे स्थायी समिति बैठकमा थप छलफल हुनेछ ।’

प्रमुख सचेतक भानुभक्त ढकालले भने उम्मेदवारीको सम्भावना रहे पनि नेताहरूबीच छलफल भइनसकेको दाबी गरे । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले उम्मेदवार बन्न उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई उम्मेदवार बनाउन सकारात्मक छन् ।

सरकारमा अन्तिमसम्म साथ दिएका राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतसँग छलफल गरेपछि प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिने एमालेको तयारी छ ।