काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा/सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् ।
राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारीहरु कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भने, ‘अहिलेसम्म ७२ प्रतिशत कर्मचारी मैदानमा पुगिसकेका छन्, अहिले रेकर्ड लिने काम जारी छ, खटाइएका ठाउँमा कर्मचारीहरु अनिवार्य पुग्नैपर्छ, नपुगेको वा अन्यत्र काम गर्छु भन्नेलाई कुनैपनि सुविधा दिँदैनौं, उहाँहरुले तत्काल काम सुरु गर्नुपर्छ, कार्यक्षेत्रमा पुगेपछि यदि उहाँहरुको जायज माँगहरु रैछन् भने म विचार गर्न तयार छु, तर पहिले उहाँहरु कार्यक्षेत्र अनिवार्य रुपमा पुग्नैपर्छ।’
मन्त्री पण्डितले ७२ प्रतिशतमात्रै नभएर १०० मा १०० प्रतिशत कर्मचारी खटाईएका ठाउँमा पुग्नुपर्ने बताए । उनले थपे, ‘नजानेहरुको बाटो एउटै हो, राष्ट्रसेवक भन्ने अनि २४ घण्टा नै राष्ट्रको सेवा गर्न तयार छु भनेर सपथ खाने, तर सरकारले खटाएका ठाउँमा नजाने हो भने यो हामीलाई सह्य हुँदैन, सरकारभन्दा माथि आफूलाई कर्मचारीले सम्झनुहुँदैन्, यदि आफू सरकारभन्दा माथि छु भनेर कुनै कर्मचारीले भुल गरे, सजाय भोग्नुपर्छ, जसले जुन मात्राको गल्ती गर्छ, उसलाई त्यही मात्राको सजाय दिन्छौं।’
मन्त्री पण्डितले पटक–पटक तोकदा गर्दापनि खटाइएको कार्यक्षेत्रमा नजाने वा अटेर गर्ने कर्मचारीहरुलाई सधैंको लागि विदावारी गर्ने चेतावनी दिए । ‘कसैको कुनै सुनुवाईले काम गर्दैन्, अटेर गर्ने वा खटाईएको क्षेत्रमा नजानेहरुलाई सदाका लागि विदा गर्छु,’ उनले भने।
कर्मचारीहरुले नेताको घरमा धाएर सोर्स/फोर्स लगाउने काम गरे आफू कानमा रुवा हालेर बस्ने उनको भनाइ थियो । उनले भने, ‘जहाँ हाजिर गर्नुपर्ने हो, त्यहाँ बन्द गराउँछु, यदि लुकिछिपी हाजिर गराईएको पाएमा, कार्यालय प्रमुखलाई समेत कारबाहीको दायरामा ल्याउँछु।’
कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा समेत खोस्ने उनको चेतावनी थियो । उनले भने, ‘कारबाहीमात्रै होईन, लिँदै आएका सबै सेवा तथा सुविधा नै रोक्छु, त्यो गर्दापनि भएन भने म निजामति सेवा ऐन अनुसार बर्खास्ती गर्छु, सँधैका लागि बर्खास्त गर्छु।’






