कर्णाली प्रदेशमा मन्त्री अघिअघि, मन्त्रालय पछिपछिः मन्त्री रावल

SANYO DIGITAL CAMERA

काठमाडौँ- कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश मन्त्रालय संचालन सम्बन्धी ऐन र कानुन नबनेका कारण सोँचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले सरकार संचालनका दैनिक कामसँगै ऐन र कानुन निर्माणलाई तीब्रता दिएको बताए ।

“केन्द्रमा जस्तो प्रदेश मन्त्रालयका ऐन र कानुन बनेका छैनन्, दैनिक कार्य संचालनसँगै ऐन र कानुन निर्माणलाई अगाडि बढाएका छौँ । अहिले मन्त्री अघिअघि र मन्त्रालय पछिपछि जस्तो भएको छ” मन्त्री रावलले भने ।

सोमबार संवाद डबलीमा अनेरास्ववियु हुम्ला–काठमाडौँ सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री रावलले प्रदेशलाई समृद्धि बनाउने गरी सरकारले काम सुरु गरेको बताए । आफ्नो मन्त्रालयभित्र शिक्षा, स्वास्थ्य, रोजगार, महिला, भाषासहित सातओटा विधा परेको बताउँदै मन्त्री रावलले भने,“मैले समालेको मन्त्रालयभित्र सातओटा विभाग छन्, प्रदेशका नागरिकलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउने गरी कानुन बनाउँदै छौं ।”

देशको समृद्धिको लागि विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री रावलले त्यसको लागि तयार हुन विद्यार्थीहरुलाई आग्रह गरे ।