काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यको जीन सुनिश्चित भएको छ ।
शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा करिब १८ हजार मतले अगाडि छन् । शाक्यले ६१५६० र जोशीले ४३५३७ मत पाए ।
तेस्रो स्थानमा पछ्याइरहेकी विवेकशील नेपाली दलकी रन्जु दर्शनाको मत २२ हजार ३०७ पुगेको छ । त्यस्तै साझा पार्टीका किशोर थापाले १७ हजार ४७३ मत पुर्याएका छन् भने माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले ७३३५ मत पाएका छन् ।
शाक्यले अहिलेसम्मकै रेकर्ड तोड्दै आफ्नो वडाबाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरेका छन् । शाक्यको २१ नम्बर वडाबाट कुल ३८ सय मत मध्ये उनले ३२ सय ८७ मत प्राप्त गरेका छन् । यो कुल मतको करीव ८७ प्रतिशत हो ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीको जित सुनिश्चित भइसकेको छ । १० हजार मत गन्न बाँकी हुँदा उनले एमाले समर्थित राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई २२ हजार भन्दा बढी मतान्तरले पछि पारेकी छन् ।
खड्गीले ५५ हजार ८४५ मत प्राप्त गरेकी छन् भने राजारामले ३३ हजार ९९ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादवले १० हजार ९४५ मत पाएकी छन् भने माओवादी उम्मेदवार सुशीला पौडेलको ९६७२ मत छ ।






