काश्मिरका मुख्यमन्त्रीको निधन

mufti-mohammadनयाँ दिल्ली- भारत प्रशासित काश्मिरका मुख्यमन्त्री मुफ्ती मुहम्मद सइदको बिहीबार निधन भएको समाचार छ । उहाँ विरामी भएपछि नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिीच्युट अफ मेडिकल साइन्सेज्मा उपचार गराइरहनुभएको थियो ।

उपचाररत उहाँको बिहीबार बिहान निधन भएको समाचार सो अपस्पतालले दिएको बताइएको छ । उक्त अस्पतालका अधिकारीहरुले बिहीबार बिहान मुख्यमन्त्री सइदको निधनको समाचार सार्वजनिक गरेका हुन् ।
उहाँ भारतको एकजना लोकप्रिय मुस्लिम नेताका रुपमा चिनिनुहुन्थ्यो । स्वासप्रस्वाससम्बन्धी समस्या देखिएपछि उहाँलाई गत हप्ता नयाँ दिल्लीको सो अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँ ७९ वर्षका हुनुहुन्थ्यो । उहाँले सो राज्यको मुख्यमन्त्रीका रुपमा दुई पटकसम्म सेवा गर्नुभएको थियो । उहाँ सन् २००२ देखि सन् २००५ सम्म पहिलो पटक र पछिल्लो पटक गत मार्च महिनादेखि सो पदमा चयन हुनुभएको थियो ।

उहाँ भारतको पहिलो मुस्लिम गृहमन्त्रीका रुपमा पनि चयन हुनुभएको थियो । सन् १९८९ मा उहाँ भारतको गृहमन्त्री बन्नुभएको हो । उहाँ गृहमन्त्री भएकै समयमा उहाँकी छोरीलाई काश्मिरका हतियारधारीले अपहरण गरेका थिए ।

पछि पाँचजना मुस्लिम हतियारधारीलाई जेलबाट मुक्त गरेपछि मात्र उहाँकी छोरीलाई छोड्ने शर्त उनीहरुले राखेपछि सरकारले ती बन्दीलाई छोडेको थियो । रासस÷सिन्ह्वा÷एएफपी