लण्डन । मोर्गेज साथसाथै स्टेट एजेन्टस्को रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको ग्रुप पीपलले च्यारिटी डिनरका साथ तेस्रो वार्षिकोत्सव मनाएको छ । गत ८ मार्च शुक्रबार साँझ अल्डरसटस्थित एम्पायर हलमा विविध साँस्कृतिक कार्यक्रमका साथ सो वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा ग्रुप पीपलले नेपालमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध काम गर्दै आएको ‘आशा नेपाल’ नामक संस्थाको सहयोगार्थ च्यारिटी डिनरको समेत आयोजना गरिएको थियो । कार्यक्रममा ग्रुप पीपलका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङले सेवाको अवसरका लागि सबै ग्राहकहरुलाई धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा राखे । उनले नारीको महत्व र गरिमाको चर्चा गर्दै वार्षिकोत्सवमा च्यारिटीको समेत आयोजना गरिएको र च्यारिटीबाट संकलित रकम महिलाहरुकै लागि काम गर्दै आएको ‘आशा नेपाल’ नामक संस्थालाई सहयोग गरिने जनाए । आफ्नो ममतामयी आमा तथा बुबाको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा निर्देशक गुरुङले ग्राहक, मिहेनेती तथा परिश्रमी स्टाफ, आफ्नी धर्मपत्नी र बहिनीहरुको साथ र सहयोगका लागि हृदय देखिनै धन्यवाद दिए ।
कार्यक्रममा भर्खरै स्तन क्यान्सरबाट मुक्त भएकी समाजसेवी मञ्जु गुरुङ राईसंग निर्देशक गुरुङले साक्षात्कार समेत गरेका थिए । सो अवसरमा समाजसेवी राईले आफुले नजिकबाट चिनेको क्यान्सर, गरेको संघर्ष र स्वस्थ जीवनबारे आफ्नो अनुभव सुनाईन् । साथै, उनले क्यान्सर जस्तो धातक रोगलाई शुरुको अवस्थामा पत्ता लगाउन सकिएमा उपचार संभव हुने बताउदै आफ्नो शरीरलाई आवश्यक जाँच गरिरहन पनि सुझाए । उनले मानिस जहिले पनि बिरामी हुन सक्ने भएको हुँदा आफ्नो स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने बताउदै आवश्यक विमाहरु पनि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गायिका शर्मिला वर्देवा, गायिका ममता गुरुङ र एभरेष्ट आइडल–२०१८ विजेता गायक मनोज गुरुङले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । आशा नेपालको सहयोगार्थ लक्की ड्र समेत खेलाइएको कार्यक्रममा पहिलो बिजेता राज लामा (अल्डरसट) ले एक तोला सुन, दोस्रो विजेता हरिभक्त गुरुङ (फार्नबरो) र तेस्रो बिजेता यमुना राई (स्यान्डर्स) लाई पीपल गिफ्ट कार्ड उपहार प्रदान गरिएको थियो । गत एक वर्षभित्र ग्राहक बनेका पीपलका ग्राहकहरुको विशेष उपस्थिति रहेको कार्यक्रमको लक्की ड्र टिकट र डोनेशन गरी १६ सय पाउण्ड संकलन भएको र सो संकलित रकम छिट्टै आशा नेपाललाई प्रदान गरिने ग्रुपका निर्देशक गुरुङले जनाए । उनका अनुसार आशा नेपाललाई डोनेशन गर्न चाहने सहयोगदाताहरुले अझै अनलाईनमार्फत सहयोग गर्न सकिने बताए । सबै आगन्तुकहरुलाई प्रवेश निःशुल्क गरिएको कार्यक्रममा सबैभन्दा टाढाबाट आएका ग्राहक नबिन गुरुङ, समाजसेवी मञ्जु गुरुङ राई, कार्यक्रम संयोजनमा विशेष सहयोग गरेकी प्रतिमा जोशी, ग्राहक सेमन्त राई, गायिका शर्मिला बर्देवा, गायिका ममता गुरुङ र गायक मनोज गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा ग्रुप पीपलको आसफोर्ड शाखामा कार्यरत युनिका राईलाई ‘पीपल अफ दि इयर’ को उपाधीबाट सम्मान गरिएको थियो । ३ बर्ष अघि शुरुमा फार्नबोरोको नर्थक्याम्पबाट सेवा आरम्भ गरेको पीपलमा अहिले १८ जना स्टाफ कार्यरत छन् । त्यस्तै, बेलायतको आसफोर्ड, स्वीन्डन र एनडोबरमा समेत शाखा स्थापना समेत गरिसकेको छ । पीपलले घर खरीद गर्न चाहनेहरुका लागि सरल र शुलभ व्याजदरमा मोर्गेजको व्यवस्था गरिदिने, प्रोपर्टी लेटिङ्ग र सेल्समा सहयोग गर्दै आएको छ । त्यसको अतिरिक्त प्रोटेक्सन, विल्स र इन्स्योरेन्स लगायतको सेवा पनि दिदैं आएको छ । उपस्थित सबै महिलालाई प्रमुख अतिथि र पुरुषहरुलाई विशेष अतिथिको रुपमा संवोधन गरिएको कार्यक्रममा उद्घोषकद्वयले यस धर्तीका नारीहरुको महत्व, सहनशिलता र भूमिकाबारे व्यापक रुपमा चर्चा गरी कार्यक्रमलाई नारीमय बनाएका थिए । त्यस्तै, ग्रुपका कापी टिमले बालबालिकाहरुका लागि चित्रकला र पेन्टिङ्गको व्यवस्था गरेका थिए । 
ग्रुप पीपलका मार्केटिङ्ग तथा डिजाइन म्यानेजर सागर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ग्राहकको तर्फबाट सेमन्त राईले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, कार्यक्रममा ग्रुप पीपलका अपरेशन म्यानेजर प्रनिशा गुरुङले सबै अतिथिहरुलाई विशेष धन्यवाद दिइएको कार्यक्रमलाई बडो मनोरञ्जनात्मक तवरले ग्रुप पीपलका लाक्पा शेर्पा र मिलन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
यसै बीच गत वर्ष पीपलले आफ्नो दोस्रो वार्षिकोत्सवमा गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटी संस्थालाई २ हजार ३ सय पाउण्ड आर्थिक सहयोग गरेका थिए ।तस्विर : मिलन तमु






