काठमाडौं, १८ जेठ । मुलुक शोकमा डुबेका कारण गणतन्त्र दिवसका अवसरमा कुनै सभा समारोह नगर्ने सरकारी निर्णयलाई सबैले स्वागत गरे । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नेपालको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हो, तर महाविनाशकारी भूकम्पका कारण मुलुक शोकमा डुबेकाले यति ठूलो उपलब्धि हाासिल भएको दिनमा पनि कुनै उल्लास मनाइएन ।
राष्ट्रपति डा.रामवरण यादवले पनि यस वर्ष चियापान समारोहको आयोजना गरेनन् । तर आठौं गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते उनले देशवासीका नाममा दिएको औपचारिक सन्देशको विषयमा भने आ–आफ्नै ढंगले व्याख्या हुन थालेको छ । मुलुक पुनर्निर्माण सँगसँगै संविधान निर्माणको काम पनि अघि बढाउन राष्ट्रपति यादवले आफ्नो सन्देशमार्फत आग्रह गरे । आफ्नो सन्देशमा राष्ट्रपति यादवले यही सरकारलाई निरन्तरता दिनुपर्ने आशयसमेत व्यक्त गरे । तर उनको यो आशयपछि प्रतिपक्षी दलहरू मात्रै होइन, सत्तामा रहेको नेकपा एमालेसमेत सशंकित भएको देखियो ।
राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने गृहकार्यमा दलहरू लागिरहेको अवस्थामा राष्ट्रपतिद्वारा त्यस्तो अभिव्यक्ति आएका कारण दलहरू सशंकित देखिएका हुन् । यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिनुपर्ने अडानमा नेपाली कांग्रेस छ भने अन्य दलहरू राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्नुपर्ने अडानमा छन् । यिनै फरक अडानका कारण दलहरूबीच कुरा मिल्न नसकेको यथार्थता राष्ट्रपति यादवलाई थाहा नहुने प्रश्न छैन । तर उनले गणतन्त्र दिवस जस्तो महान दिनमा नेपाली कांग्रेसको अडानलाई बल पुग्ने गरी सन्देश दिँदा अन्य दलहरू सशंकित भएका हुन् ।
राष्ट्रपति पदमा निर्वाचित हुनुअघिसम्म यादव नेपाली कांग्रेसको महामन्त्री थिए । अहिलेका प्रधानमन्त्री सुशील कोइरालाकै जोडबलमा यादव त्यतिबेला नेपाली कांग्रेसको महामन्त्रीमा मनोनयन भएका हुन् । यति मात्रै होइन, उनलाई राष्ट्रपति पदमा जिताउन ज–जसको हात रहे पनि राष्ट्रपति पदमा उम्मेदवार बनाउन भने अहिलेकै प्रधानमन्त्री सुशील कोइरालाको मुख्य हात थियो । त्यसैले के गर्दा कोइरालालाई सहज हुन्छ, त्यही भूमिका राष्ट्रपति यादवले खेल्नु स्वाभाविक हो । यो जान्दाजन्दै पनि प्रतिपक्षी दलहरू राष्ट्रपति यादवको भूमिकालाई लिएर सशंकित देखिएका छन् ।
एक वर्षपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने सर्तका आधारमा कोइराला नेतृत्वको वर्तमान सरकार बनेको दाबी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले गर्दै आइरहेका छन् । तर कोइराला परिवारसँग के के सम्झौता गरेर कांग्रेसका तत्कालीन महामन्त्री यादव राष्ट्रपति पदमा उम्मेदवार बनेका थिए ? भन्ने कुरा बाहिर आएको छैन । साथै, नेपाली कांग्रेसको १२औं महाधिवेशनमा के के सम्झौताका आधारमा उनले कोइरालालाई सभापति पदमा चुनाव जिताउन दहीचिउरा क्याम्पियनमा लागेका थिए भन्ने रहस्यको पनि उद्घाटन भइसकेको छ । सूत्रहरूका अनुसार यादव अझै तीन वर्ष नयाँ संविधान बन्दैन भन्ने कुरामा ढुक्क छन् । नयाँ संविधान बन्नासाथ सुशील कोइरालालाई आफ्नो उत्तराधिकारी बनाउने पुरानो सहमतिमा उनी टसमस छैनन् । उनले प्रधानमन्त्री कोइरालालाई यो कुरा भनिसकेका छन् । अबको तीन वर्षसम्म यादवको राष्ट्रपति पद जोगाउन प्रधानमन्त्री कोइरालाले आफ्नातर्फबाट कुनै कसर बाँकी नराख्ने र कोइरालाको प्रधानमन्त्री पद जोगाउन राष्ट्रपति यादवले कुनै कसर नराख्ने र त्यसपछि कोइरालालाई राष्ट्रपति सुम्पने सहमति भएको समाचार स्रोतले जनाएको छ ।
सुशील र रामवरणबीच राष्ट्रपतिमा सम्झौता






