अमेरिका जान केन्द्र सरकारले रोक लगाएपछि भिडियो कन्फरेन्समा लालबाबुको सम्बोधन, के–के भने ?

काठमाडौं– केन्द्र सरकारले अमेरिका जानबाट रोक लगाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भिडियो कन्फरेन्समार्फत त्यहाँ रहेका मधेशी समूदायलाई सम्बोधन गरेका छन् ।

अमेरिकामा रहेको मधेशी समूदायको छाता संगठन मधेशी एसोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएका थिएन ।

अनुमति नदिएपछि उनले जनकपुरबाट शनिबार भिडियो कन्फरेन्समार्फत सम्बोधन गरे । अरु दिनको तुलानामा निकै संयम भएर आफ्नो मन्तव्य राखेका मुख्यमन्त्री राउतले विकास, समृद्धिमा जोड दिएका थिए ।

उनले आफूलाई यो कार्यक्रममा आउने इच्छा भएपनि विशेष कारणले आउन नसकेको भन्दै प्रदेश २ को विकासका लागि अमेरिकामा रहेका मधेशी समूदायले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
प्रदेश २ लाई समृद्ध प्रदेश बनाउने इच्छा रहेको र त्यसमा सबैको सहयोग रहने धारणा उनले राखे ।

संघीय संरचनाअनुसार प्रदेश सरकारगठन भइसकेको अवस्थामा प्रदेशको विकास र समृद्धिका लागि सबैतिरबाट पहल भइरहेको उनले धारणा राखेका थिए ।

अमेरिका पुगेर त्यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको अध्ययन गरेर आफ्नो प्रदेशमा लागु गराउने सोच रहेपनि त्यो अपूरो हुन पुगेको समेत उनले बताए ।

उनले भविष्यमा अनुकूलता मिलाएर अमेरिका पुगि त्यहाँका मधेसी समूदायसाग भेटघाट गर्ने पनि वाचा गरे । सो क्रममा उनले नेपालीका साथै भोजपुरी र मैथिली भाषा पनि प्रयोग गरेका थिए ।