राष्ट्रपति र उपराष्ट्रपति दोहोर्‍याउने तयारीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएका छन्  ।

साढे दुई वर्ष मात्र जिम्मेवारी सम्हालेकाले पूर्ण कार्यकाल काम गर्ने दुवैको इच्छामा ओली र प्रचण्ड सकारात्मक देखिएका छन्  । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयनिकट स्रोतका अनुसार दुवै नेताबीच यसबारे पटक–पटक कुराकानी भएकाले वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन: दोहोरिनेमा आश्वस्त छन् ।

राष्ट्रपति निर्वाचनका लागि २१ फागुनदेखि प्रक्रिया सुरु हुने भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दिने–नदिनेबारे निर्णय गरेको छैन । सातवटै प्रदेश सभा र संघीय संसद्को प्रतिनिधिसभामा सरकार गठन गर्ने मत नभएपछि कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने मनस्थिति बनाएको छैन ।

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि पुन: उम्मेदवार बन्ने चाहना राखेका छन् ।

राष्ट्रपति पदका उम्मेदवारले विजयी हुन २६ हजार ३ सय ९४ मत ल्याउनु पर्छ ।