लन्डन । बेलायतको ह्याम्पशायर क्षेत्रकै पहिलो आधुनिक मेक्सिकन रेस्टुरेन्ट ‘ज्याम्ब्रेरो’ को नयाँ शाखा बेसिङस्टोकस्थित प्रसिद्ध फेस्टिभल प्लेसमा एक भव्य समारोहका बीच शनिबार औपचारिक रूपमा शुभारम्भ भएको छ। नेपाली युवा व्यवसायी सुमिन लोहनीले उक्त फ्रेन्चाइज रेस्टुरेन्ट सन्चालनमा ल्याएका हुन्।
एक विशेष समारोहका बीच बेजिङस्टोककी मेयर काउन्सिलर ज्याकी टस्टेन, स्थानीय सांसद ल्यूक मर्फी, काउन्सिलर एन्डी म्याककर्मिक र ह्याम्पशायर प्रहरी कन्स्टाबुलरीका सल्लाहकार एवं बुद्धिजीवी शिबाजी श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर रेस्टुरेन्टको उद्घाटन गरे।
उद्घाटनको अवसर पारेर पहिलो चार घण्टा (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) ग्राहकहरूका लागि ‘फ्री बुरिटो गिभअवे’ (निःशुल्क खाना) को व्यवस्था गरिएको थियो। उक्त अफरको फाइदा लिन रेस्टुरेन्ट बाहिर स्थानीय उपभोक्ताहरूको निकै लामो लाइन लागेको थियो। उद्घाटनकै दिन ग्राहकहरूको यस्तो उत्साहजनक र सुखद उपस्थितिले व्यवसायमा नयाँ ऊर्जा थपेको सञ्चालकले बताएका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर काउन्सिलर ज्याकी टस्टेनले रेस्टुरेन्टको व्यावसायिक सफलताको कामना गर्दै यसको परोपकारी कार्यको प्रशंसा गरिन्। उनले भनिन्, ‘ज्याम्ब्रेरोको स्वादिष्ट मेक्सिकन परिकार मात्र होइन, यसको सामाजिक सोच पनि उदाहरणीय छ। ‘प्लेट ४ प्लेट’ अभियान अन्तर्गत यहाँ बिक्री हुने प्रत्येक बुरिटो वा बाउलबापत विश्वका भोकमरी पीडितहरूलाई एक छाक भोजन दान गर्ने कार्य साँच्चिकै सराहनीय छ। यस्तो पवित्र उद्देश्य बोकेको व्यवसायलाई बेसिङस्टोकमा स्वागत गर्न पाउँदा हामीलाई गर्व लागेको छ।’
त्यस्तै, उद्घाटन कार्यक्रममा उपस्थित काउन्सिलर एन्डी म्याक कर्मिकले नयाँ व्यवसाय सुरु भएकोमा खुसी व्यक्त गरे भने बुद्धिजीवी शिबाजी श्रेष्ठले मेक्सिकन खानाको स्वाद र गुणस्तर उत्कृष्ट रहेको प्रतिक्रिया दिए।
बेसिङस्टोकमा करिब १५ वर्षदेखि बसोबास गर्दै आएका ज्याम्ब्रेरोका फ्रेन्चाइज मालिक तथा ह्याम्पशायर क्षेत्रका प्रतिनिधि सुमिन लोहनीले नयाँ शाखा सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘मलाई बेसिङस्टोकसँग सधैं विशेष भावनात्मक सम्बन्ध रहेको छ, त्यसैले आफ्नै क्षेत्रमा अर्को ज्याम्ब्रेरो रेस्टुरेन्ट खोल्न पाउँदा अत्यन्त खुसी लागेको छ।’
लोहनी सन् २०२५ मा ज्याम्ब्रेरोको फ्रेन्चाइज साझेदार बनेका हुन्। हाल उनले रिडिङस्थित शाखा सञ्चालन गरिरहेका छन् भने आगामी दिनमा ह्याम्पशायर, बर्कशायर र आइल अफ वाइट क्षेत्रमा नयाँ फ्रेन्चाइज साझेदारहरूसँग समन्वय गर्दै थप शाखाहरू विस्तार गर्ने योजना बनाएका छन्।
के-के छन् विशेषता ?
ज्याम्ब्रेरो रेस्टुरेन्ट ग्राहकको रोजाइअनुसार तुरुन्तै तयार गरिने बुरिटो, बाउल, टाको, नाचोज र केसाडिलाका लागि विश्वभर परिचित छ। यसको मेनुमा शाकाहारी, भेगन तथा हलाल विकल्पहरू समेत उपलब्ध छन्।
क्वीन एन्स स्क्वायर, फेस्टिभल प्लेस सपिङ सेन्टरमा अवस्थित यस नयाँ रेस्टुरेन्टमा आकर्षक मेक्सिकन संगीत र आधुनिक भित्री सजावट रिएको छ। यहाँ एक पटकमा २५ जना ग्राहकले बसेर खान सक्ने (डाइन-इन) व्यवस्था छ भने टेक-अवे सेवा पनि उपलब्ध छ। उद्घाटन कार्यक्रमलाई थप संगीतमय बनाउन ज्याम्ब्रेरोका रेसिडेन्ट डीजे एनसीले हिप–हप संगीत प्रस्तुत गर्दै ग्राहकहरूलाई मनोरञ्जन दिलाएका थिए।
सन् २०२१ मा बेलायतमा प्रवेश गरेको यो बहुराष्ट्रिय ब्राण्डको यो १६औँ शाखा हो। हाल यसका शाखाहरू लन्डन, म्यानचेस्टर, बर्मिङ्घम, रिडिङ, एसेक्स र ग्लास्गो लगायतका प्रमुख सहरहरूमा सञ्चालनमा रहेका छन्।






