धनगढी– सुदूरपश्चिमका महिला सांसदहरुले सञ्चारमाध्यमले आफ्ना सवालहरुलाई प्राथमिकता नदिएको गुनासो गरेका छन् । उनीहरुले पुरुष सांसदको तुलनामा महिला सांसदहरु छायाँमा परेको अनुभव सुनाए ।
धनगढीमा भएको ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तक्र्रिया कार्यक्रममा महिला सांसदहरुले सञ्चारमाध्यम महिलामैत्री हुन नसकेको गुनासो गरे । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले लोकतन्त्र र समावेशीताका लागि मिडियाको भूमिका उल्लेखनीय रहेको भन्दै सञ्चार माध्यम महिलामैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले सञ्चारमाध्यमले महिलामा भएका कमजोरीलाई सुधार्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले संघीयतालाई पूर्ण कार्यान्वयन गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट र सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले कार्यपत्र प्रस्तुत गर्दै सञ्चार माध्यमले पनि आफ्ना धारणा र मान्यतामा परिवर्तन गर्दै जानुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाह, संसदीय मामिला पत्रकार समाज सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष भरत शाहलगायतले सञ्चारमाध्यमले लिंग भन्दा पनि विषयवस्तुका आधारमा सम्प्रेषण गरिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा बेलायतकी पूर्वसांसद एनी मक्लौगल्लिनले महिला सांसदप्रतिको सञ्चारमाध्यमको हेराई विकसित देशमा पनि समान रहेको भन्दै आफैं सक्रिय भएर सञ्चारमाध्यमलाई ध्यानाकर्षित गर्न सकिने बताउनुभयो । एनीले आफ्नो प्रस्तुतिपछि सेल्फी खिच्नुभएको थियो ।






