बेलायती अर्थतन्त्र किन भयो सुस्त ?

लन्डन – बेलायती अर्थतन्त्र सोचेअनुरूप नबढेको तथ्यांक सार्वजनिक भएको छ । सन् २०१७ मा बेलायती अर्थतन्त्र १ दशमलव ७ प्रतिशतले मात्र वृद्धि भएको थियो । यो सन् २०१२ यताकै न्यून हो । बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक (ओएनएस राष्ट्रिय तथ्यांक कार्यालय) ले सुरुमा अर्थतन्त्र १ दशमलव ८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो ।

सार्वजनिक भएको तथ्यांक अनुसार बेलायतका परिवारले गर्ने खर्चमा समेत १ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । यो पनि सन् २०१२ यताकै कम हो । उपभोक्ताले चर्को मूल्य तिर्नुपरेकाले वृद्धिदर कम हुन पुगेको ओएनएसले जनाएको छ ।

एक बेलायती अर्थशास्त्रीक्रिस विलियमसनले बेलायती अर्थतन्त्रका केही क्षेत्र चिन्ताजनक रूपमा घटेको विश्लेषण गरेका छन् । ओएनएसले सार्वजनिक गरेको तथ्यांकअनुसार बेलायतका निर्माण उद्योगमा आर्थिक मन्दी छ, लगानीहरू अघि बढ्न सकेको छैन र बेलायती परिवारको खर्च गर्न सक्ने क्षमतामा थोरै मात्र वृद्धि भएको छ ।

ज्यालादर सोचेअनुरूप नबढेकाले पनि बेलायती परिवारले गर्ने खर्चको औसतदर बढ्न नसकेको निष्कर्ष निकालिएको छ ।अर्का बेलायती अर्थशास्त्री जोन हक्सवर्थले यही कारणले यो वर्ष बेलायती अर्थतन्त्र १ दशमलव ५ प्रतिशतले मात्रै बढ्ने अनुमान गरेका छन् ।

‘यो खतरनाक संकेत त होइन तर यसले हामीलाई अर्थतन्त्रका हिसाबले जी सेभेन राष्ट्रको पुछारमा पुर्‍याउनेछ,’ उनले भनेका छन् ।यहाँको केन्द्रीय बैंक भने केही आशावादी देखिन्छ । गत महिना मात्रै बैंक अफ इंग्ल्यान्डले यो वर्ष अर्थतन्त्र १ दशमलव ८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । जब कि यसअघि नोभेम्बरमा उसले वृद्धि १ दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो ।अर्थतन्त्र यही गतिमा रहे बैंकहरूले दिने ब्याजदरमा पनि वृद्धि हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।(एजेन्सी)