मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

काठमाडौं- नेकपा एमालेको स्थायी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले भने, “बैठकले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दिएको छ ।”

बैठकले दुई पार्टीबीच एकताका क्रममा फागुन ७ गते भएको सात बुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदनसमेत गरेको प्रमुख भट्टराईले जानकारी दिए ।