कमल थापाले आफ्ना केन्द्रीय सदस्य अपहरण गरेको भन्दै पशुपति पुगे सर्वोच्च

काठमाडौँ– राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

दल दर्ताका लागि समर्थनसहितको हस्ताक्षर आयोगमा बुझाइएको भए पनि पुनः सनाखत गर्नुपर्ने निर्णय खारेजीको माग गर्दै मुद्दा दर्ता गरेको हो ।

‘कुनैपनि व्यक्तिको राजनीति गर्ने अधिकारको हनन भएको छ’ राणाले दायर गरेको रिटमा भनिएको छ । त्यस्तै राप्रापा प्रजातान्त्रिकले यसअघि दल दर्ताका क्रमममा निर्वाचन आयोगमा दस्तखत गरिसकेका केन्द्रीय सदस्यहरुले पुनः दस्तखत गर्नुपर्ने भन्ने आयोगको निर्णय खारेज गर्न माग गरिएको नेता दिपक बोहोराले बताए ।

आज अध्यक्ष राणाले दर्ता गरेको रिटमा आफ्नो पार्टीका केन्द्रीय सदस्यहरु कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा आरोप लगाएका छन् ।

सर्वोच्चमा मुद्दा दर्ता गर्न अध्यक्ष राणासँगै नेताहरु दीपक बोहोरा, विक्रम पाण्डे, धु्वबहादुर प्रधान लगायतका नेता कार्यकर्ता पुगेका थिए । रिटमा राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगबाट मान्यता पाउन लागेको अवस्थामा राप्रपाका कमल थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएकाले शान्ति सुरक्षाको माग समेत गरिएको छ ।

त्यस्तै रिटमा थापाले अपहरण गरेर हेटौडामा राखेका आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको माग समेत गरिएको छ ।

रिटको आइतबार पेशी तोकिएको छ ।

दुई साताअघि पशुपति शमशेर राणाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनले ४० प्रतिशत केन्द्रीय सदस्य र २० जना सांसदको सनाखतसहितको आवेदन बुझाएको दाबी गरेका थिए । तर, कमल थापा पक्षले भने राणाले ४० प्रतिशत पुर्याउन नसकेको भन्दै आयोगमा दिएको निवेदन खारेज गर्न माग गर्दै आएको थियो । आयोगले राप्रपा राणा समूहलाई हस्ताक्षर जुटाउन भदौ ४ गतेसम्मको म्याद दिएको थियो । यसैबीच राणा पक्षले हस्ताक्षर आयोग बुझाइरहेको बेला आफ्ना पक्षका केन्द्रीय सदस्य कमल थापाले अपहरण गरेर हेटौडा लगेर बन्धक बनाएको आरोप लगाएको छ ।

दुई पार्टीबीचको विवाद सर्वोच्च अदालत पुगेपछि विवादले नयाँ मोड लिएको छ ।