काठमाडौं १८ असाेज।
एकीकृत माओवादीले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरेको छ । राजधानीको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा साँझ बसेको पदाधिकारी बैठकले १६ बुँदे सहमतिताका भएको भद्र सहमति अनुसार एमाले नेतृत्वमा सरकार गठन हुनु पर्ने निश्कर्ष निकालेको हो । संविधान जारी भएसगै कार्यान्वयनको चरणमा पनि सहमतिय राजनीति आवश्यक भएको भन्दै माओवादीले पूर्व सहमति अनुसार एमाले नेतृत्वको सरकारमा जोड दिएको हो ।
माओवादीले ओली नेतृत्वको सरकार गठनकालागि विभिन्न ५ वटा प्राथमिकतामा तय गरेको छ । पहिलो बुदामा उसले मधेसका मुद्दा सम्बोधन गर्नुपर्ने विषयलाई सरकारको प्राथमिकतामा राखेको छ । त्यस्तै भूकम्पपछिको पुर्ननिर्माण, सुशासन र शान्ति आगामी सरकारका प्रमुख एजेण्डा हुनुपर्ने उसको प्रस्ताव छ ।
यसअघि बालुबाटारमा बसेको सर्वदलीय बैठकमा पनि अध्यक्ष दाहालले यसअघिको भद्र सहमति अनुसार एमाले नेतृत्वको राष्ट्रिय सरकार बन्नु पर्ने बताउनुभएको थियो । अन्य दलले तीन दलबीच भएको भद्र सहमति र भावी प्रधानमन्त्रीका बारेमा जिज्ञासा राखेपछि दाहालले ओलीको नाम लिएका थिए ।






