संविधान संशोधनको विपक्षमा उभिन राप्रपामा दबाब

मकवानपुर– मकवानपुरको हेटौँडामा जारी राप्रपा केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टी संविधान संशोधनको विपक्षमा उभिनुपर्ने धारणा राखेका छन् ।

बैठकको दोस्रो दिन बोल्ने सांसद तथा केन्द्रीय सदस्यहरुले संविधान संशोधन पार्टीको एजेण्डा नभएकोले यसमा समर्थन गरिरहनु नपर्नेमा जोड दिएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।

राप्रपाले यसअघि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । संशोधनको मुल मर्म राजपा समेतलाई निर्वाचनमा ल्याउनु र मधेसका अतिवादी शक्तिलाई एक्ल्याउनु भएपनि सरकार र राजपा स्वयं संशोधनमा गम्भीर नदेखिएको, तीन दिनपछि निर्णयार्थ पेश गरिने विधेयकमा सरकारले संशोधनको पक्षमा वातावरण तयार नगरेको, चौथो शक्तिलाई उपेक्षा र अपमानित गरिरहेकोले सरकार र राजपा स्वयं विधेयक पास गर्ने पक्षमा नरहेको राप्रपाका नेताहरुको भनाई छ ।

यसअघि संविधान संशोधन विधेयकको पक्षमा रहँदा सो पार्टीका केही सांसदहरूले संसदीय दलको बैठक बहिष्कार गरेका थिए । बैठक बहिष्कार गर्ने सांसदहरू अहिले पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिकमा लागेका छन् ।

राणाले संशोधनको पक्षमा रहेको बताइसकेका छन् । तर, राणाको समूहले दलको मान्यता पाइसकेको छैन ।