शिब भण्डारी
लन्डन । २७ अगष्ट आइतबार लन्डनमा हुन लागेको नेपाली मेलामा मौलिक भेषभुषामा आएर मेलामा सहभागी भइदिन लन्डनस्थित तमुधिं यूकेले आव्हान गरेको छ ।
बेलायतवासी झण्डै दश हजार नेपाली आउने अपेक्षा गरिएको मेलामा सहभागी हुन गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले समेतको उपस्थिति रहने तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले लण्डन नेपाल न्यूज डटकम संग को टेलीफोन कुराकानीमा बताउनु भयो ।
यसैबीच तमुधिं यूके उपाध्यक्ष एवं मेला संयोजक हितकाजी गुरुङले दिउसो १ बजेदेखि झांकीसहितको परेड शुरु हुने बताउदै मेला सफल बनाउन ६२ जनाको समिति बनाइएको र सबैले आ-आफ्नो जिम्मेवारी बमोजिम काम गरिरहेको बताए ।
बेलायतस्थित दर्जनौं संघसंस्थाको प्रत्यक्ष सहभागिता रहने उक्त मेलाले मिनी नेपाल अर्थात नेपाली कला, संस्कृति र भेषभुषा झल्काउने गर्छ । मेलालाइ थप मनोरन्जनात्मक बनाउन ब्रिगेड अफ ब्याण्ड र नेपाली युवाहरुको सांगीतिक प्रस्तुति, एम्बेसेडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, एब मनोरन्जनात्मक खेल, नेपाली खाना तथा उत्पादनहरुका स्टल आदि आकर्षणका रुपमा रहनेछन् ।
हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ केम्पटन पार्क रेस कोर्समा हुने ९ औं नेपाली मेलाको तयारी तीव्र भएको छ ।






