प्रधानमन्त्री सिन्जो आबेले आइतबार इस्लामिक स्टेटका लडाकूको जापानी बन्धकको हत्या गर्ने कार्य ‘‘क्रूर तथा भुल्नैनसकिने’’ भएको बताउँदै दोस्रो बन्धकलाई तत्कालै रिहा गरिदिन माग गर्नुभएको छ । उक्त हत्याको विश्वव्यापी रूपमा कडा विरोध भएको छ । सुरक्षा ठेक्केदार हरूना युकावाको टाउको काट्ने कार्यको घोषणा एक भिडियोमार्फत भएको हो र त्यसलाई सामान्यतया विश्वसनीय मानिएको छ । यस घटनाक्रमले जापानलाई करिब एक सातासम्म निकै सङ्कटमा पारेको थियो ।
प्रधानमन्त्री आबेले प्रसारक संस्था एनएचकेलाई आतङ्कवादको उक्त कार्य ‘‘क्रूर तथा भूल्नै नसकिने र आफूले त्यसको कडा रूपमा भत्र्सना’’ गर्ने बताउनुभयो । उहाँले स्वतन्त्र पत्रकार केन्जी गोटोलाई तत्कालै मुक्त गर्न माग गर्नुभयो । टोकियोको बाहिरी भागमा सोइची युकावाले आफ्नो छोरोको हत्या भएको थाहा पाएपछि निकै त्रास अनुभव गरेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त कार्य ‘‘क्रूर हत्या’’ भएको बताउनुभयो । राष्ट्रपति ओबामा आइतबार तीन दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभएको हो । उहाँले टेलिफोनमा जापानी प्रधानमन्त्री आबेलाई उक्त हत्याका लागि आफूले समवेदना प्रकट गरेको र जापानी जनताप्रति एकताको भाव व्यक्त गर्न चाहेको बताउनुभयो । उक्त जानकारी ह्वाइट हाउसले एक विज्ञप्ति प्रकाशन गरी दिएको हो ।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले इस्लामिक स्टेटको अभियान ‘‘बर्बर हत्याकारी’’ भएको बताउनुभएको छ भने फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले उक्त कार्य ‘‘बर्बर हत्या’’ भएको बताउनुभएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले उक्त कार्य ‘‘हत्यारा समूह’’ ले गरेको ‘‘पूर्ण अत्याचार’’ भएको बताउनुभएको छ । जर्मन विदेशमन्त्री फ्र्याङ्क–वाल्टर स्टिनमियरले उक्त कार्य ‘‘घृणित अपराध’’ भएको बताउनुभयो ।
राती जारी गरिएको उक्त भिडियोमा जापानले निरन्तर रूपमा विश्लेषण गरिरहेको थियो र प्रधानमन्त्री आबेले उक्त भिडियो विश्वसनीय देखिएको बताउनुभयो । तीन मिनेटको उक्त भिडियोमा दुब्ला थकित गोटोलाई युकावाको मारिएको शरीर लिएको अवस्थाको फोटो राखिएको छ । भिडियोमा राखिएको आवाजमा गोटोले आफूले २० करोड अमेरिकी डलर रकम तिर्न नसकेकाले बन्धक बनाइएका मित्रको मृत्यु भएको बताएको सुनिएको छ । उक्त स्वरमा सन् २००५ मा अम्मानमा अनेकौँ बम आक्रमण गरी ६० व्यक्तिको हत्या गर्ने र जोर्डनमा मृत्युदण्ड दिइएकी एक इराकी महिला सजिदा अल–रिसावीलाई रिहा गर्न माग गरिएको छ ।
यस स्वरमा अब रकम नमाग्ने तर ती महिलालाई रिहा गर्नुपर्ने बताइएको छ । जापानले आफ्ना एक मन्त्रीलाई जोर्डन पठाएको छ र प्रधानमन्त्री आबेले आफूले सजिदालाई मुक्त गर्न आग्रह गर्ने वा नगर्ने भन्ने विषयमा कुनै टिप्पणी गर्नुभएको छैन । गोटोकी आमा जुनको इसिदोले आइतबार आफनो छोरोको फोटो देखेपछि आफूमा केही आशा जागेको बताउनुभयो । उहाँले जापानले आफ्ना जनतालाई कहिल्यै परित्याग नगर्ने बताउँदै सरकार सकेसम्म राम्रो काम गर्न एक भएको उल्लेख गर्नुभयो ।
बन्धकको ‘‘क्रूर’’ हत्याको जापानद्वारा भत्र्सना






