भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइतबार उहाँहरूबीच एक सम्झौता भएको र नागरिकी पारमाणविक ऊर्जा सम्झौता अवरुद्ध गर्ने अवरोध टुटेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ओबामासँग राजधानी नयाँ दिल्लीमा एक संयुक्त पत्रकार सम्मेलनमा दुई मुलुकले दुईपक्षीय सम्झौता हस्ताक्षर गरेको छ वर्षपछि उनीहरू आफ्ना कानुन तथा अन्तर्राष्ट्रिय कानुनी जिम्मेवारीसँग मिल्ने गरी व्यापारिक सहयोगका लागि अगाडि बढेको बताउनुभयो ।
दुई मुलुकले सन् २००८ मा भारतलाई नागरिक पारमाणविक प्रविधिमा पहुँच दिने विषयमा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए । पारमाणविक दुर्घटनाका समयमा लिनुपर्ने जिम्मेवारीका विषयमा भारतको कडा कानुनप्रति अमेरिकी चासोका कारण उक्त सम्झौता कार्यान्वयन भएको थिएन । उक्त अवरोध कसरी भत्क्यो भन्ने सम्बन्धमा तत्कालै विस्तृत विवरण प्राप्त भएको छैन । भारतले आफ्नो क्षेत्रमा पारमाणविक दुर्घटना भएमा त्यस्तो संयन्त्र निर्माण गर्ने कम्पनीलाई दायित्वबाट मुक्त गर्न एक बिमा समूह तयार गर्न प्रस्ताव राखेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले नागरिक पारमाणविक सहयोग अगाडि बढाउन आफूहरूलाई रोक्ने दुई विषयमा समझदारी भएकाले आफूहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले आफूहरू सम्बन्ध अगाडि बढाउन मिलेर कसरी काम गर्न सकिन्छ भनी यसले महत्वपूर्ण पाइला देखाएको बताउनुभयो ।
राष्ट्रपति ओबामाद्वारा महत्वपूर्ण प्रगति भएको दाबी






