सिड्नी । न्यू साउथ वेल्समा कोभिड १९ संक्रमण बढ्दै जान थालेपछि समग्र राज्यमा नै लकडाउन घोषणा गरिएको छ ।
दुई महिनादेखि सिड्नीमा मात्र लकडाउन गरिदै आएकोमा अहिले दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको कारण राज्य भरी नै लकडाउन घोषणा गरिएको हो ।
नयाँ मापदण्ड सहितको लकडाउन आजै साँझ ५ बजेबाट लागू गरिने छ ।
वितेको २४ घण्टामा यस प्रदेशमा एक ओभरसिज गरी ४६७ संक्रमितहरु फेला परेका छन् । १ लाख २९ हजार मानिसहरुमा गरिएको परिक्षणको क्रममा उक्त संख्यामा संक्रमित फेला परेको मेयर ग्लाडिस बेरेजिक्लियनले बताइन् ।
उनका अनुसार अति नै संक्रमक मानिएको डेल्टा भेयिरन्ट प्रदेशभरी नै फैलिन थालेसँगै समग्र राज्य नै लकडाउनमा जानूपरेको हो । उनले अत्यावश्यक बाहेक अन्य काममा बाहिर नहिड्न सबैलाई आग्रह गरेकी छन् । राज्यभरीको लकडाउन सात दिनको लागि लागू गरिएको छ ।
यस्तै वितेको २४ घण्टामा यस राज्यमा मात्रै चार जना कोभिड संक्रमितको मृत्यु भएको छ । महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन पूर्ण पालना नभएपछि सिड्नीमा सेना परिचालन गरिएको छ । सोमबार देखि थप ५ सय सेनाहरु परिचालन हुने भएका छन् ।
हालसम्म अष्ट्रेलियामा कुल जनसंख्याको २५ प्रतिशतले कोभिडविरुद्धको खोपको दुवै मात्रा लगाएका छन् भने पहिलो मात्रा लगाउनेको संख्या ४६ प्रतिशत छ ।







