लण्डन । गत शनिवार देखि लण्डनमा आफ्ना मागहरु सम्बोधन गर्नको निम्ती बेलायत सरकारमाथि दबाब बढाउन भोक हड्तालमा बसेका ३ जना भुपू गोर्खाहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
२१ जुलाई देखि १७ दिने रिले अनशन बस्दा पनि सरकारले नसुनेपछि ज्ञानराज राई, पुष्पा घले र घन गुरुङले गत शनिवारबाट प्रधानमन्त्री कार्यालय अघि भोकै बसेका छन् । आफ्नो मागहरु सम्बोधन नभएसम्म सत्याग्रह नछोड्ने विषयमा अडिग रहेका उनीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै रहेको भन्दै गोर्खाहरुमा चिन्ता बढेको छ ।
शुक्रवार भोक हड्तालको सातौं दिन पुग्दा अनसनकारीहरु शिथिल र कमजोर देखिए । भोक हड्ताल आव्हान गर्ने सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आमरण अनसनमा रहेका तीनै जनाकोे स्वास्थ्यवस्था नाजुक बन्दै गएको बताए । उनीहरु राम्रोसंग बोल्न, शौचालय जान पनि नसक्ने भएको उनले बताए ।
अनशनरत उनीहरुलाई यहाँ रहेका नेपाली नर्सहरुले स्वास्थ्य परीक्षण शुरू गरेका छन् । जटिल बन्दै गइरहेको उनीहरुको स्वास्थ्य अवस्थाको दैनिक रुपमा परिक्षण शुरू गरिएको नेप्लिज नर्स एसोसियसनकी अध्यक्ष सुनिता गौतमको भनाइ छ । नर्सहरुले ब्लड प्रेसर, ब्लड सुगर र कोभिड परीक्षण गर्ने गरेका छन् ।
१९९७ भन्दा अघि रिटायर भएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन् । समान पेन्सन लगायतका अन्य विभिन्न मागहरु सहित बेलायतमा गोर्खा सत्याग्रहले बर्षौदेखि आन्दोलन गर्दै आएका छन् ।
सरकारले आन्दोलन दबाउन खोज्ने गरेपनि समाधानको प्रयास गरेको छैन ।






