दयानिधी सापकोटाले गरे एनआरएनए यूरोप उपसंयोजकमा उम्मेद्वारी घोषणा

लण्डन । बेलायत लेस्टर निवासी एकजना सफल व्यवसायी तथा एनआरएनए अभियन्ता दयानिधि सापकोटा आउंदो अक्टोबरमा हुने एनआरएनए महाधिवेशनमा युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उम्मेद्वारी घोषणा गर्दै उनले भने, ‘बेलायत एनआरएनएको जन्मभूमि पनि हो। बेलायत लगाएत युरोपभरिका नेपालीहरुलाई समेट्ने र गोर्खा समस्या समाधान गर्न मैले सक्दो पहल गर्ने छु” ।

हाल बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य रहेका सापकोटा सन् २००६ देखि नै गैर आवासीय नेपाली अभियानमा सक्रिय रहदै आएका छन्। ब्रिटेनको मिडल्याण्ड क्षेत्रमा गैर आवासीय नेपाली संघको पहुँच बलियो बनाउन र राज्य समिति बनाउन उनी अनवरत लागेका थिए। गत साता सकिएको एनआरएनए यूके निर्वाचनको निर्वाचन मण्डलमा बसेर उनले नयां कार्यसमिति घोषणामा देखिएको ढिलाइ र असहज परिस्थितिलाई ‘सेफ ल्याण्डिङ’ गराएपछि उनको लिडरसीप क्षमता एकपटक फेरि चर्चामा रह्यो।

‘म नेपाली समाजमा केही गर्नुपर्छ भन्ने सदैव चाहना 
राख्ने व्यक्ति हुं। मेरो पारिवारिक विरासतले पनि त्यही सिकाएको थियो। पेशागत दक्षता बांडेर होस् वा आर्थिक, सामाजिक सहयोग दिएर, म मातृभूमिसंग सधैं सामिप्यमा रहें र अब पनि रहनेछु’,उम्मेदवारी दिनुको प्रमुख कारण समाजसेवा नै रहेको प्रष्टयाउंदै उनले बताए। बेलायत नेपाल दुवैतिर च्यारिटीकर्म, आपतविपत र प्राकृतिक विपत्तिमा साथ दिदै आएका उनले नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्।

बाग्लुङबाट जर्मनी हुदै बेलायत-

बेलायतको नेपाली समुदायमा ‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको परिचय बनाएका दयानिधिको विगत–वर्तमान, व्यवसाय र एनआरएन अभियान बडो रोचक छ। बेलायतको लेस्टरमा दुई रेष्टुरेन्टका मालिक हुन् उनी । सापकोटाको सन् २०१३ देखि सञ्चालित इटालियन रेष्टुरेन्ट ‘ओजी’ र लेस्टरमै नेपाली रेष्टुरेन्ट गोर्खा एम्बेसी चालु छन् । उनी जति कमाउंछन्, समाजलाई त्यति नै दान गर्छन् । शायद चन्दा दिन नाइं भन्न नसक्ने भएर होला,आम्दानीको ठूलो हिस्सा च्यारिटीमै सकिन्छ। बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिए दयानिधि। स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बी.कम. अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी। जर्मनी जानु आफ्नो वाध्यता र रहर दुवै भएको स्मरण गर्छन् दयानिधि । 
उनले करिब १५ वर्ष जर्मनीमा बिताए।

‘जर्मनी बसाइकै क्रममा पनि मैले आफूले पढेको विद्यालयलाई प्लस टु हुंदै क्याम्पससम्म बनाउन भवन निर्माण, संरचना र अन्य ‘लजिस्टिक’ सहयोगका लागि पहल गरें। जर्मनी रहंदा यूरोपका विभिन्न देश जाने र आफ्नो अनुभव संगाल्ने अवसर मिल्यो’, उनी स्मरण गर्छन्। सन् २००६ अक्टोबर १ मा बेलायत आएपछि युरोप महादेशमा भए पनि बेलायतलाई झन् फरक शैलीमा बुझ्न पाएको उनी बताउंछन्। बेलायत अरु युरोपियन देशहरु भन्दा बहुआयामिक, प्रजातान्त्रिक र बहुधार्मिक लागेकाले यहीं बसेर रोजगारीतर्फ लागेको उनले सुनाए। ‘म संग करिब २५ वर्ष ‘इटालियन ग्यास्ट्रोनोमी’ को अनुभव भएकाले जर्मनी बस्दा पनि इटालियन रेस्टुरांको प्रोपाइटर थिएं। त्यसैको अनुभव लिएर सन् २०१३ मा मैले यूकेको लेस्टर शहरमा ‘ओजी’ इटालियन रेष्टुरेन्ट खोल्न सफल भएं’, दयानिधि भन्छन्, ‘अहिलेसम्म यही पेशामा आवद्ध छु। नेपाली भएर अरु देशको खाना ख्वाउने एउटा चुनौतिपूर्ण पेशामा म सफल भइरहंदा आफूलाई भाग्यमानी पनि ठानेको छु।’ उनी विद्यार्थी जीवनमा पनि सामाजिक, आर्थिक र राजनीतिक विषयमा चासो दिने गर्दथे। त्यसै कारण यूकेको आफ्नो प्यारो शहर लेस्टरमा नेपाली समाजलाई सशक्त बनाउने अभियानमा जुटे उनी।

‘त्यसमा मेरा सहकर्मी साथीहरुले अहोरात्र सहयोग गर्नुभयो। परिणामतः मैले सृजनशील लेस्टर नेपाल यूकेको दुई कार्यकाल अध्यक्ष भएर ४ वर्ष काम गर्ने सौभाग्य पाएं। म अहिले पनि सबै साथीहरुमा हार्दिक आभार ब्यक्त गर्दै नमन गर्न चाहन्छु’, उनी भन्छन् । ततपश्चात साझा नेपाली समाज गठन गर्नका लागि फेरी पनि सामुदायिक नेताहरुबाट जिम्मेवारी पाएअनुसार 
संस्थापक सदस्य तथा विधान समिति संयोजक भएर काम गर्ने सौभाग्य पाए उनले । जसमा सृजनशील लेस्टर नेपाल यूके, नटिङघम नेपाली समाज यूके, पिटरबरो नेपाली समाज यूके, हाम्रो नेपाली समाज वेस्टमिडल्याण्डको पहलमा साझा नेपाली समाज स्थापना भयो र उनले त्यसको आपतकालीन राहतकोष संयोजक भएर काम पनि गरे । त्यस्तै उनले आफ्नो जन्मथलोमा विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कार्यक्रमहरु अगाडि बढाउने उद्देश्यले बिहुंकोट हेल्प नेटवर्क यूकेको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पाए। यसले गर्दा समाजमा अझ काम गर्ने उर्जा थपिएको उनी बताउंछन्।

म नेपाली समुदायको माया देखेर आफूलाई भाग्यमानी पनि ठान्छु। नेपाल ब्रिटेन डटकमले हरेक वर्ष बेलायतका १० चर्चित व्यक्ति छान्ने क्रममा सन् २०१४ मा दश चर्चित व्यक्तिमध्ये म पनि पर्न सफल हुंदा र समाजमा गरेका कामहरुको मुल्यांकन हुंदा गौरवान्तित महशुस गरेको छु’, उनले भने। दर्जनौ सामाजिक संस्थाहरूमा काम गरेर अनुभव हासिल गरेका दयानिधिले गैर आवासीय नेपाली संघको युरोप क्षेत्रमा आफ्नो अनुभव र सक्रियतालाई निरन्तरता दिन चाहेको बताए।