धर्म निरपेक्षताविरुद्ध कांग्रेस सभासदहरु

Congress flage

काठमाडौं, १६ असार । कांग्रेसका दर्जन सभासद्हरुले संविधानको पहिलो मस्यौदामा उल्लेख भएका केही शव्दहरुमा असहमति राख्दै विरोध गरेका छन् । संविधानसभामा पेश भएको संविधानको पहिलो मस्यौदामा राखिएको धर्मनिरपेक्षताप्रति असहमति राख्दै धार्मिक स्वतन्त्रता हुनुपर्ने उनीहरुले अडान राखेका थिए । ‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नु पर्छ भन्ने हाम्रो धारणा हो’ कांग्रेस सभासद् शंकर भण्डारीले भने, ‘अझै पनि अन्तिम मस्यौदामा यस्तो प्रावधान राख्न हामी अभियान सुरु गर्नेछौ।’
ति सभासद्हरुले संविधानको पहिलो मस्यौदामा बहुलवाद नराखिएकोमा पनि असहमति जनाएका छन्। ‘लोकतान्त्रिक संविधानका लागि वुहलबाद अपरिहार्य हुन्छ’ भण्डारीले भने, ‘शव्द नै राख्न नखोज्नु भनेको लोकतान्त्रिक व्यवस्था मान्न तयार नहुनु हो।’ त्यसका साथै मस्यौदामा समावेश भएको ‘समाजवाद उन्मुख’ भन्ने शव्दमा पनि उनीहरुको असहमति छ। ‘समाजवाद उन्मुख भन्ने कम्युनिष्ट शव्द हो’ भण्डारीले भने, ‘बहुलवाद नराखिएको र समाजवाद उन्मुख भन्नेमा हाम्रो असहमति छ ।’
कांग्रेसले बहुलवाद राख्नु पर्ने र समाजवाद उन्मुख हटाउनु पर्ने अडान जारी राखेपनि एमाओवादी र एमालेको विरोधका कारण संविधानसभामा पहिलो मस्यौदानै पेश हुन नसक्ने अवस्था आएपछि त्यसलाई स्विकार गरेको हो।  धार्मिक स्वतन्त्रताका विषयमा भने यसअघिनै संविधान मस्यौदा समितिले अनुमोदन गरेको प्रतिवेदनमा पनि समावेश गरिएको थिएन । यसअघि संविधान मस्यौदा समितिको बैठकमा कांग्रेस सभासद्हरु शेखर कोइराला, भण्डारी, डिना उपाध्याय, कविताकुमारी सरदार, प्रकाशसरण महत, हरि नेपाल, जगदिश्वरनरसिह केसी, कमला पन्त र शारदा पौडेलले बहुलवाद र धार्मिक स्वतन्त्रता राख्नु पर्ने र समाजवाद उन्मुख शव्द संविधानमा राख्न नहुने धारणा राखेका थिए।