काठमाडौं- कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीको १३ औँ महाधिवेशनका लागि सभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
आफ्नै निवास मण्डिखाटरमा पत्रकार सम्मेलन गरी कांग्रेसलाई समाप्त पार्न अहिले पार्टीभित्र र बाहिरबाट विभिन्न व्यक्ति र शक्ति क्रियाशील बन्दै गएको छ, यसलाई रोक्न तथा पार्टीलाई बचाउन आफूले उम्मेदवारी दिन लागेको बताउनुभयो ।
नेता कोइरालाले मधेसमा देखिएको समस्यालाई वार्ता र सम्बादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले हिमाल, पहाड, तराई, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक, पिछडिएका सबैको भावनालाई समट्न आफ्नो नेतृत्व आवश्यक रहेको प्रष्ट पार्नुभयो ।
पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहनुभएकी कोइरालाले अन्तर्राष्ट्रिय तहमा पार्टीलाई विस्तार एवम् प्रबर्द्धन गर्दै अन्तर्राष्ट्रिय मुलुकसँग राम्रो सम्बन्ध बनाउने बताउँदै विशेषगरी दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई झन् प्रगाढ बनाउने उल्लेख गर्नुभयो ।
उहाँले नेपालको राजनीतिक विकास क्रममा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि, सुशील कोइरालालगायतका नेताको ठूलो योगदान रहेको भन्दै उहाँहरुको विचार र आदर्शलाई पार्टीले उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।






