युरोपियन युनियनद्वारा ब्रेक्सिट सम्झौता पारित

एजेन्सी- युरोपियन युनियनबाट अलग हुने बेलायतको सम्झौतालाई युनियनका नेताहरुले पारित गरेका छन् ।

युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले यसको जानकारी दिएका हुन् ।

युनियनका २७ नेताहरुले ब्रसेल्समा बसेको करिब एक घण्टा लामो बैठकपछि सो निर्णय गरेका हुन् ।

स्पेनले अन्तिम समयमा गिब्राल्टारको बारेमा आफ्नो आपत्ति फिर्ता लिएपछि शनिबार टस्कले सम्झौता पारित हुने संकेत गरेका थिए ।

यद्यपि, यो सम्झौतालाई अझै बेलायतको संसदले पारित गर्नुपर्नेछ जहाँ अझै धेरै सांसदहरु यसको विरोध गरिरहेका छन् ।

अध्यक्ष टस्कले यसको जानकारी ट्वीटरमार्फत दिएका थिए ।

सन् २०१६ को जनमतसंग्रहपछि बेलयातले धारा ५० को प्रयोग गर्दै इयुबाट अलग हुने निर्णय गरेको थियो ।

यसपछि दुई पक्षबीच १८ महिना लामो छलफल पछि सम्झौता भएको थियो ।

बेलायतले सन् २०१९ को मार्च २९ मा इयुबाट अलग भइसक्ने बताएको छ ।

यो सम्झौताबारे डिसेम्बरको शुरुवातमा बेलायतको संसदमा भोटिङ हुनेछ । यद्यपि, लेबर, लिबरल डेमोक्र्याट, एसएनपी, डीयुपी र धेरै कन्जरभेटिभ सांसदहरुले यसको विपक्षमा भोट गर्ने तयारीमा रहेका कारण यो सम्झौता पास हुने अन्यौल कायम रहेको छ ।

यता, प्रधानमन्त्री थेरेसा मेले यो सम्झौता बेलायतका लागि उत्कृष्ट रहेको बताउँदै जनतालाई यसको समर्थनमा दबाब सृजना गर्न आग्रह गरेकी छिन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *