लन्डनमा ‘निर्वाण’माथि अन्तर्क्रिया लेखक भन्छन्, ‘प्रगतिले मात्रै पनि दु:खबाट मुक्ति पाइँदैन’

h1

लन्डन– मदन पुरस्कारका लागि सर्ट लिस्टमा परेको पुस्तक ‘निर्वाण’का लेखक घनश्याम खड्का लन्डनमा पाठक एवं पत्रकारमाझ भेटिए ।

कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादकसमेत रहेका खड्का छात्रवृत्तिमा हाल बेलायतमै अध्ययनरत छन् । उनले आफ्नो पुस्तकका विविध आयामबारे प्रष्ट्याए ।

निर्वाण कस्तो पुस्तक हो त ? ‘दुःखबाट मुक्ती बाहिरी प्रगतिले मात्र पुग्दैन । यो आन्तरिक चेतनाको कुरा हो । सत्यलाई हेर्ने र अनुभव गर्ने अवस्थासँग यो जोडिएको छ । निर्वाण दु:खबाट सदाकालका लागि छुटकारा पाउने त्यही अवस्थाको नाम हो,’ अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले आयोजना गरेको साहित्यिक सन्ध्यामा उनी पुस्तकबो बेलिबिस्तार लगाउँदै थिए ।12

खड्काले पुस्तकको चुरो कुरा खोले, ‘संसारमा जति प्रगति भए पनि मानिसको दुःखमा परिवर्तन आएको छैन् । मान्छे ढुंगे युगमा पनि दुःखी थियो अहिले आधुनिक युगमा पनि दुःखी नै छ । सबभन्दा सम्वृद्ध भनिएका देशहरु जापान र अमेरिकामा आत्महत्या सबभन्दा धेरै छ । यसले पुष्टि गर्छ भौतिक सम्पन्नताले मात्र मानिसलाई खुसी दिँदैन् ।’

समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल प्रमुख अतिथि र बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली विशेष अतिथि रहेको कार्यक्रमका सभापति तथा प्रतिष्ठान अध्यक्ष साहित्यकार विकलचन्द्र आचार्यले कृतिमा जीवन दर्शनको गहिरो ज्ञान सटिक र रोमाञ्चकारी तवरबाट प्रस्तुत गरिएको बताए । उनले आधुनिक समयमा अध्यात्मिक चिन्तन अभावले धेरै मानिस भौतिक सुख सुविधा जस्तो अनावश्यक महत्वाकांक्षा लिएर रुमल्लिएकाले उनीहरु बढी असन्तुष्टि र चिन्तामा छटपटाइरहेको उल्लेख गरे ।

आचार्यले उपन्यास भित्र प्रेम र दर्शनलाई रोमाञ्चकारी तवरले पस्कने खड्कालाई निर्वाणको दोश्रो संस्करण लेख्न पनि सुझाए ।

प्रतिष्ठानकी महासचिव जया राईले सञ्चालन गरेको उक्त कार्यक्रममा पुरण थापाले पुस्तकले जीवनलाई रुपान्तरण गर्न सहयोग पुग्ने धारणा राखे ।

प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले स्वागत मन्तव्य दिएको कार्यक्रममा लेखक खड्का, नरेश काङमाङ राई,विकलचन्द्र आचार्य लगायतले कविता वाचन समेत गरेका थिए ।