च्यारिटीका लागि एनआरएन यूकेको यस्तो छ तयारी

jiलन्डन– ‘नेपाल हाउस’ गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए, यूके)को ड्रिम प्रोजेक्ट हो । नेपाल हाउसलाई बनाइछाड्ने अभियानमा रहेको एनआरएन यूकेले आगामी साता भव्य च्यारिटी कार्यक्रम गर्दैछ ।

च्यारिटीलाई सफल बनाउन विभिन्न तहमा तयारी तीब्र पारिएको छ । आइतबार सम्पन्न कार्यसमिति बैठकले नेपाल हाउसका लागि आर्थिक सहयोग जुटाउन आगामी २६ डिसेम्बर अल्डरसटमा हुन लागेको च्यारिटी सफल बनाउन विभिन्न योजनाहरु अघि सारेको छ ।

अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा च्यारिटी भव्य बनाउन दिपक श्रेष्ठ, ललित न्यौपाने, सुरज मास्के, ललित गुरुङ, सालिक सापकोटा र फडिन्द्र भट्टराईलाईका लागि परिचालन गर्ने निर्णय भएको छ । कोषाध्यक्ष दीपक श्रेष्ठले अन्तमा संकलित रकमबारे घोषणा गर्ने कार्यक्रम छ ।

शान्ति थापा कुँवर, सुशीला राई, मन्जु भण्डारी र छविमाया पुनलाई खादा र अतिथी सत्कारमा खटाइएको छ भने प्रोजेक्टर लगायत अन्य कार्यक्रम व्यवस्थापन मिलन गुरुङलाई जिम्मा दिइएको छ ।

बैठकले सदस्यता नवीकरण र नयाँ वितरण गर्ने निर्णय भएको छ । नेपाली दूतावासमा सदस्यता फाराम वितरणको व्यवस्था गर्ने निर्णय समेत भएको छ ।

बैठकले संघको मुखपत्र एनआरएन भ्वाइस २६ डिसेम्बरकै दिन बिमोचन गर्ने निर्णय गरेको छ । बैठकले क्षेत्रीय शाखाहरु स्कटल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स र मिडल्याण्डमा विस्तार गर्ने जिम्मा उपाध्यक्ष दासु पाण्डेलाई दिने निर्णय गरेको छ ।

आर्थिक समितिमा स्मृति श्रेष्ठ निरौला थपिएको छ भने संघको वेबसाइट अपडेट गर्ने, कार्यसमितिका सबै पदाधिकारीहरुसँग एकसय पाउण्ड र मनोनित सदस्यहरुसँग रकम असुल गर्ने निर्णय गरेको छ ।