पत्रकार महासंघका पदाधिकारीसँग लन्डनमा अन्तर्क्रिया

 

fnj

तस्बिरः एभरेष्ट गौतम 

लन्डन- नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको विधानमा संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ ।

महासंघ बेलायत शाखाको अधिवेशनमा भाग लिएर फर्कनेक्रममा पत्रकार बिपिन निरौला सँग कुरा गर्दै विष्टले विधानमा संशोधन गर्दै विदेशस्थित शाखाको गठन र निर्वाचनमा एकरुपता ल्याइने जानकारी दिनुभयो । उहाँले यूके शाखाको निर्वाचनका क्रममा उठेका प्रश्न, सुझावलाईसमेत आगामी केन्द्रीय समिति बैठकमा छलफलको विषय बनाइने जानकारी दिनुभयो ।

विष्टले महासंघले अब संविधान कार्यान्वयनका पक्षमा सञ्चार अभियान प्रारम्भ गर्ने जानकारी दिनुभयो ।

विष्टसहित नेपालबाट आउनुभएका पत्रकार महासंघका पदाधिकारीहरु नेपाल फर्कनुअघि एनआरएनए यूरोप संयोजक कुल आचार्यले लन्डनमा दिनुभएको दिवाभोजमा सहभागी हुनुभएको थियो ।

दिवाभोजमा भएको छलफलमा एनआरएनए र महासंघको सहकार्यका विषयमा अन्तर्क्रिया भएको थियो । अन्तर्क्रियामा डा. विष्टले महासंघले स्थापना गर्न लागेको तालिम केन्द्र र लाइब्रेरीका लागि सहयोग गर्न आहृवान गर्नुभएको थियो ।

जवाफमा आचार्यले आफ्नो गृहजिल्लामा पनि ई-लाइब्रेरी स्थापना गरेको जानकारी दिंदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष अनिता विन्दुले नयाँ संविधानले महिलाहरुको हक अधिकार र समान सहभागिता सुनिश्चित गरेको जानकारी दिनुभयो । उहाँ महासंघको बेलायत शाखामा महिला सहभागिता न्यून रहेकोमा खिन्नता प्रकट गर्नुभयो ।

सञ्चारमन्त्रालयका प्रेस सल्लाहकार एवं महासंघका पूर्वकेन्द्रीय सदस्य मात्रिका पौडेलले सरकारले सञ्चार संग्रहालय बनाउन लागेको जानकारी दिनुभयो । उहाँले बेलायतमा जंगबहादुर राणाको तस्बिरलगायत नेपाली प्रकाशनसम्बन्धि सामाग्री हुन सक्ने भएकाले आवश्यक खोजी र अनुसन्धानमा सहयोग गर्न बेलायतस्थित पत्रकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महासंघ यूके शाखाका पूर्वअध्यक्ष नविन पोखरेल, गोर्खाच्यानल टीभीका पत्रकार बिमला सेने, नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकाल, एनआरएन यूकेका पूर्वमहासचिव रामशरण सिंखडा, पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम पत्रकार बिपिन निरौला एभरेस्ट गौतम लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।12834942_10205873526826175_789976701_n[1]