भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान

NoCrimeZoneभक्तपुर- महानगरीय प्रहरी परिषर, भक्तपुरले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु गरेको छ ।

आजदेखि सुरु गरेको अभियानमा जिल्लाव्यापी रुपमा प्रहरीको गस्ती बढाइने, आपराधिक क्षेत्रमा सादा प्रहरी परिचालन गर्ने, रात्रि गस्ती र चेक पोष्ट स्थापना गरेर चेक जाँच बढाएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले यसबारे जानकारी दिँदै आजदेखि व्यापक रुपमा प्रहरी परिचालन गरेको बताउनुभयो ।

जिल्लाका प्रत्येक नाकाका प्रहरीसहितको टोली एलर्टमा रहने बताउँदै उहाँले कतै घटना घटेमा तत्कालै प्रहरी पुग्न सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

परिषरले दिउँसोको समयमा साइकल गस्तीलाई व्यापक बनाएको बताउँदै उहाँले पर्यटकीय क्षेत्र, बैंक, वित्तीय संस्था रहेको क्षेत्र, मानिस बढी आवतजावत हुने क्षेत्र र विगतमा आपराधिक गतिविधि हुने क्षेत्रलाई प्रहरीले निगरानीमा राखेको उल्लेख गर्नु भयो ।