नवनिर्वाचित प्रधानमन्त्री ओलीका ६ प्राथमिकता

  • संविधान कार्यान्वयन
  • भूकम्पपछिको पुनर्निर्माण
  • पछिल्लो समयमा देखिएका समस्या समाधान
  • नाकाबन्दीको सहजीकरण
  • समृद्धितर्फको यात्रा
  • सबैसँग मिलेर अगाडि बढ्ने
 काठमाडौं २५ असाेज ।  नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गरी शान्ति, सुव्यवस्थासँगै विभिन्न रचनात्मक कामका साथ मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सबै पक्षलाई साथ लिएर अगाडि बढ्ने चाहना व्यक्त गर्दै ओलीले मुलुकमा देखिएका केही चुनौतीको सामना गरेर अगाडि बढ्ने पनि बताए ।
 सबैलाई साथ लिएर जाने चाहन्छु,’ प्रधानमन्त्री निर्वाचित भएलगत्तै ओलीले पत्रकारसँग भने, ‘केही अप्ठ्यारा देखिएका छन् । ती धेरै महŒवपूर्ण छैनन् । तिनलाई पूरा गर्न सकिन्छ ।’ एमाओवादी र राप्रपा नेपालसहित १६ वटा पार्टीले गरेको समर्थनका आधारमा आफू निर्वाचित भएको उल्लेख गर्दै ओलीले भने, ‘यस जिम्मेवारीलाई मैले अवसर, सम्मान र चुनौतीका रूपमा लिएको छु ।’
ओलीसँग प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै राष्ट्रिय समस्या समाधान गर्न लागिपर्ने धारणा व्यक्त गरे । ‘नयाँ प्रधानमन्त्रीलाई हाम्रो सहयोग हुन्छ ।
मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति नेपाली कांग्रेसले त्याग गरेको हो,’ कोइरालाले पत्रकारसँग भने, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति हामी उभिएका हौं । त्यसमा हामी सधैं प्रतिबद्ध रहन्छौं ।’ कोइरालाले १६ बुँदे सहमति हुँदा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति नभएको दाबी दोहोर्‍याए । नाकाबन्दी, भूकम्प, तराईमधेससहित राष्ट्रिय समस्या समाधान गर्न आफूहरूले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उपसभापति रामचन्द्र पौडेलले बताए ।
ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्तावक बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान गर्न कांग्रेससहित सबै शक्ति मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘यस्तो परिस्थितिमा प्रमुख शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने थियो । कांग्रेससमेत प्रमुख राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर सरकारमा बसी संविधान संशोधनलगायत ऐनकानुन परिमार्जन गर्नुपर्ने थियो । अन्तिम समयसम्म हामीले हाम्रा तर्फबाट त्यस विषयमा पहल र प्रयत्न गर्‍यौं ।
मलाई दुःख छ, हाम्रो तर्फबाट धेरै मेहनत भएर पनि कताकता यो विभाजनको स्थिति आयो,’ दाहालले पत्रकारसँग भने, ‘यतिबेला यो विभाजन नेपालको आवश्यकता होइन । यद्यपि लोकतान्त्रिक प्रक्रियामा निर्वाचन हुनु सामान्य प्रक्रिया हो । जितहार हुन्छ । यसलाई सामान्य रूपमा लिएर राष्ट्रिय मुद्दामा कांग्रेससहित सबै शक्तिहरू एक ठाउँमा उभिनुपर्छ ।
राष्ट्रिय मुद्दामा एकता कायम गरेर शान्ति, स्थिरता र विकासतिर लैजाने मेरो प्रतिज्ञा छ ।’ दाहालले राष्ट्रपति निर्वाचनका बारेमा नयाँ शिराबाट छलफल गरिने पनि बताए । ‘राष्ट्रपतिका विषयमा अहिले छलफल भएको छैन । प्रधानमन्त्री र राष्ट्रपतिमा हाम्रो दाबी छैन भनेर हामीले पहिलेदेखि भनेका छौं । तर अहिले नयाँ परिस्थिति बनेको छ । यो परिस्थितिमा नयाँ शिराबाट कुरा हुन्छ,’ दाहालले भने ।